२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

एसइइकी परीक्षा फल एक महिनामै प्रकाशित, ६५.९८ प्रतिशत ग्रेडेड



राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

नतिजाअनुसार २ लाख ८४ हजार १६० जना विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन् । बोर्डले यस वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा करिब चार प्रतिशतले सुधार भएको जनाएको छ ।

जिपिए अनुसार सबैभन्दा धेरै विद्यार्थी २.८ देखि ३.२ समूहमा रहेका छन् । यस समूहमा ९४ हजार २२२ जना विद्यार्थी छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८० हजार ३७२ जना, २.४ देखि २.८ जिपिए ल्याउने ५५ हजार ९७७ जना, ३.६ देखि ४.० जिपिए ल्याउने ८ हजार ३९२ जना, २.० देखि २.४ जिपिए ल्याउने ५ हजार १९० जना र १.६ देखि २.० जिपिए ल्याउने ७ जना रहेका छन् ।

सरकारले यस वर्षदेखि एसइईको नतिजा परीक्षा सकिएको एक महिनाभित्र सार्वजनिक गर्ने घोषणा गरेको थियो । सोहीअनुसार वैशाख २९ गते नतिजा सार्वजनिक गर्ने तयारी भए पनि आवश्यक काम समयमै सम्पन्न भएकाले एक दिनअघि नै नतिजा सार्वजनिक गरिएको हो ।

यसअघि एसइईको नतिजा सार्वजनिक गर्न प्रायः तीन महिना लाग्ने गरेको थियो । चैत १९ गतेदेखि सुरु भएको परीक्षा चैत २९ गते सम्पन्न भएको थियो ।

यस वर्ष एसइईमा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका थिए । सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना रहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १० : २९ बजे