ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ मेडिकल रिपोर्ट सार्वजनिक गर्दै उनको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको जनाएको छ । आगामी जुन १४ मा ८० वर्ष पुग्न लागेका ट्रम्प राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा सक्षम रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
ह्वाइट हाउसका चिकित्सक सेन पी. बारबबेलाले सार्वजनिक गरेको रिपोर्टअनुसार ट्रम्पको मुटु, फोक्सो र स्नायुसम्बन्धी स्वास्थ्य निकै राम्रो अवस्थामा छ । हाल उनी कोलेस्ट्रोल नियन्त्रण र मुटुसम्बन्धी जोखिम कम गर्न तीन प्रकारका औषधि सेवन गरिरहेका छन् । कोलेस्ट्रोल नियन्त्रणका लागि रोसुभास्टाटिन र एजेटिमिब तथा मुटुको सुरक्षाका लागि कम मात्राको एस्पिरिन दिइने गरिएको छ ।
ट्रम्पको स्वास्थ्य परीक्षण गत मंगलबार वल्टर रेड नेशनल मिलटरी मेडिकल सेन्टरमा गरिएको थियो । ह्वाइट हाउसका अनुसार २२ जना विशेषज्ञ चिकित्सकले उनको विस्तृत स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणमा सीटी स्क्यान, मुटुको इमेजिङ, क्यान्सर स्क्रिनिङ तथा विभिन्न रोग प्रतिरोधात्मक परीक्षणहरू समावेश थिए । रिपोर्टमा ट्रम्पको शारीरिक तथा संज्ञानात्मक क्षमता उत्कृष्ट रहेको उल्लेख गर्दै उनको व्यस्त कार्यतालिका, नियमित सार्वजनिक कार्यक्रम र सक्रिय जीवनशैलीले स्वास्थ्यलाई सकारात्मक प्रभाव पारेको जनाइएको छ ।
यद्यपि रिपोर्टले ट्रम्पको तौल बढेको तथ्य पनि देखाएको छ। हाल उनको तौल २३८ पाउन्ड अर्थात् करिब १०८ किलोग्राम पुगेको छ । अप्रिल २०२५ मा गरिएको परीक्षणमा उनको तौल २२४ पाउन्ड अर्थात् करिब १०१.६ किलोग्राम रहेको थियो। ६ फिट ३ इन्च अग्ला ट्रम्पलाई चिकित्सकहरूले तौल घटाउन, स्वस्थ खानपान अपनाउन र शारीरिक गतिविधि बढाउन सुझाव दिएका छन् ।
पछिल्ला केही महिनादेखि ट्रम्पको हातमा देखिएका डाम र निशानबारे उठेका प्रश्नको पनि रिपोर्टमा जवाफ दिइएको छ। चिकित्सक बार्बाबेलाका अनुसार बारम्बार मानिसहरूसँग हात मिलाउने र नियमित एस्पिरिन सेवन गर्ने कारण उनका हातमा हल्का निशान देखिने गरेका हुन्। यद्यपि केही स्वतन्त्र चिकित्सकहरूले उक्त व्याख्याप्रति शंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार ट्रम्प दायाँ हात बढी प्रयोग गर्ने व्यक्ति भए पनि निशानहरू बायाँ हातमा बढी देखिएका थिए।
रिपोर्टमा ट्रम्पको खुट्टाको तल्लो भागमा देखिने हल्का सुन्निने समस्या अघिल्लो वर्षको तुलनामा सुधार भएको उल्लेख गरिएको छ । यसअघि ह्वाइट हाउसले उनलाई ‘क्रोनिक भेनस इन्सफिसियन्सी’ नामक समस्या रहेको जानकारी दिएको थियो, जुन उमेरसँग सम्बन्धित सामान्य स्वास्थ्य समस्या मानिन्छ। मार्च महिनामा उनको घाँटीमा देखिएको छालासम्बन्धी समस्या पनि उपचार प्रक्रियाकै प्रभाव भएको बताइएको छ ।
मेडिकल रिपोर्टको अर्को उल्लेखनीय पक्ष ट्रम्पको ‘कार्डियाक एज’ अर्थात् मुटुको वास्तविक उमेरसम्बन्धी दाबी हो। चिकित्सक बार्बाबेलाले इलेक्ट्रोकार्डियोग्रामको आधारमा ट्रम्पको मुटुको अवस्था उनको वास्तविक उमेरभन्दा १४ वर्ष कम उमेरको व्यक्तिसरह रहेको उल्लेख गरेका छन् । तर केही स्वतन्त्र चिकित्सकहरूले यस्तो मूल्याङ्कनलाई औपचारिक मेडिकल रिपोर्टमा समावेश गर्नु असामान्य भएको प्रतिक्रिया दिएका छन् ।
स्वास्थ्य परीक्षणपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा प्रतिक्रिया जनाउँदै वाल्टर रिड मेडिकल सेन्टरमा गरिएको आफ्नो स्वास्थ्य परीक्षणको नतिजा उत्कृष्ट आएको दाबी गरेका थिए । उनले सबै परीक्षणको परिणाम ‘पर्फेक्ट’ रहेको उल्लेख गरेका थिए। तर केही स्वास्थ्य विज्ञहरूले ट्रम्पले प्रयोग गरेको ‘छ महिनाको फिजिकल चेकअप’ भन्ने अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । इसानी गन्गुलीका अनुसार पूर्ण शारीरिक परीक्षण सामान्यतः वर्षमा एकपटक गरिने भएकाले छ महिनाको फलोअप परीक्षणलाई ‘फुल फिजिकल’ भन्नु चिकित्सकीय अभ्यासअनुसार सामान्य मानिँदैन ।
अमेरिकी इतिहासमा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा पाका नेताहरूमध्ये एक मानिएका ट्रम्पको स्वास्थ्य अवस्थाबारे निरन्तर चर्चा भइरहेका बेला ह्वाइट हाउसले सार्वजनिक गरेको पछिल्लो रिपोर्टले उनी शारीरिक र मानसिक रूपमा पूर्ण रूपमा सक्षम रहेको दाबी दोहोर्याएको छ ।








