नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने नेता तथा कार्यकर्ताका लागि ‘लिडरसिप एकेडेमी कोर्स’ अनिवार्य गर्ने भएको छ। पार्टीले नेतृत्व विकास, उम्मेदवार छनोट र निर्वाचन तयारीलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।
नेपाल थारू संघको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै गगन थापाले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक सबैले अनिवार्य रूपमा लिडरसिप एकेडेमीमा भर्ना भएर निर्धारित कोर्स पूरा गर्नुपर्ने बताएका हुन् ।
उनका अनुसार कांग्रेसले नेतृत्व विकासका लागि ‘लिडरसिप एकेडेमी’ नामक छुट्टै इकाइ स्थापना गरेको छ र छिट्टै यसको खुला आह्वान गरिनेछ । “७५३ वटै पालिकामा निर्वाचन लड्न चाहने, दोहोरिन चाहने वा नयाँ उम्मेदवार बन्न चाहने जो कोहीले पनि अनिवार्य रूपमा लिडरसिप एकेडेमीमा सहभागी भएर कोर्स पूरा गर्नुपर्छ,” थापाले भने ।
कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा महिला नेतृत्वको सहभागिता उल्लेख्य रूपमा बढाउने लक्ष्यसमेत सार्वजनिक गरेको छ । सभापति थापाले ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा कांग्रेसको तर्फबाट महिला मेयर वा गाउँपालिका अध्यक्ष उम्मेदवार उठाउने तयारी गरिएको जानकारी दिए ।
“अर्को वर्ष स्थानीय तह र प्रदेश निर्वाचन हुँदैछ । यो पटक कम्तीमा १०० पालिकामा महिला मेयर वा अध्यक्ष उम्मेदवार बनाउने गरी अहिलेबाटै तयारी गर्नुपर्छ,” उनले भने ।
थापाले उक्त लक्ष्य हासिल गर्न महिलाको नेतृत्व विकास, प्रशिक्षण र उम्मेदवार तयारीमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । महिलाहरूलाई नेतृत्व विकास कार्यक्रम, राजनीतिक प्रशिक्षण तथा निर्वाचन तयारीमा व्यापक रूपमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो ।
उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउन कांग्रेसले निर्वाचन ब्यूरोसमेत गठन गरेको उनले बताए । ब्यूरोले सम्भावित उम्मेदवारको पहिचान, प्रशिक्षण तथा निर्वाचन तयारीका कार्यहरू अघि बढाउने जनाइएको छ ।
कांग्रेसले आगामी निर्वाचनमा विभिन्न जातीय, भाषिक र सामाजिक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने नीति लिएको पनि थापाले बताए । उनले नेपाल थारू संघलगायत पार्टीका भ्रातृ संस्थाहरूलाई योग्य र सक्षम उम्मेदवारको खोजी, प्रोत्साहन तथा प्रशिक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।
“सम्भावित उम्मेदवारलाई निर्वाचन ब्यूरो र लिडरसिप एकेडेमीसँग जोडेर नेतृत्व विकासमा सहयोग गर्न सबै भ्रातृ संस्थाले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ,” उनले भने ।
कांग्रेसको यो नयाँ व्यवस्थालाई आगामी निर्वाचनका लागि सक्षम, प्रशिक्षित र समावेशी नेतृत्व उत्पादन गर्ने रणनीतिका रूपमा हेरिएको छ । विशेषगरी महिला नेतृत्वको सहभागिता बढाउने लक्ष्यले पार्टीभित्र लैंगिक प्रतिनिधित्व विस्तार गर्ने प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।








