२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

भारतमा रवि लामिछानेको भव्य स्वागत, अमित शाह र एस जयशंकरसँग उच्चस्तरीय भेटवार्ता



पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् । भारत भ्रमणका क्रममा उनलाई भारतीय राजनीतिक वृत्तमा विशेष महत्वका साथ स्वागत गरिएको छ ।

मंगलबार नयाँदिल्लीमा लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका हुन् । भेटमा गृहमन्त्री शाहले गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि लामिछानेलाई बधाई दिएका थिए। साथै, उनले नयाँ सरकारको सफल कार्यकालका लागि भारत सरकारको तर्फबाट शुभकामना व्यक्त गरेका थिए।

अमित शाहको सचिवालयका अनुसार भेटवार्तामा दुवै पक्षले नेपाल–भारतबीचको विशेष र ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारत भ्रमणकै क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका छन्। विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भेटमा नेपाल–भारत विकास साझेदारी, नागरिक–नागरिक सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको जानकारी दिएका छन्।

भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत पुगेका लामिछानेले मंगलबार भाजपा मुख्यालयमा पार्टीका शीर्ष नेताहरूसँग पनि भेटघाट गरेका थिए। ‘नो बीजेपी’ कार्यक्रमअन्तर्गत आयोजित भेटमा भाजपाका राष्ट्रिय अध्यक्ष नवीनसहित वरिष्ठ नेताहरू सहभागी थिए।

भेटका क्रममा नितिन नवीनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धबारे चर्चा गर्दै यस्ता अन्तरक्रियाले दुई दलबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। उनले भाजपाको इतिहास, विचारधारा, संगठनात्मक संरचना तथा नागरिककेन्द्रित राजनीतिक अभ्यासबारे पनि जानकारी गराएका थिए।

भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेका अनुसार भेटवार्तामा रास्वपा प्रतिनिधिमण्डलले भाजपाको सदस्यता वितरण प्रणाली, उम्मेदवार छनोट प्रक्रिया र संगठन सञ्चालनका विषयमा जानकारी लिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले अवलम्बन गरेको विकासकेन्द्रित शासन प्रणालीबारे पनि छलफल भएको बताइएको छ।

भेटघाटका क्रममा दुवै पक्षबीच राजनीतिमा जेन–जी पुस्ताको बढ्दो भूमिका, लोकतान्त्रिक सहभागिता र भावी नेतृत्व निर्माणका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

सभापति लामिछाने सोमबार अपराह्न पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्यसहित भारत पुगेका हुन्।

भारतीय गृहमन्त्री, विदेशमन्त्री तथा सत्तारुढ दलका शीर्ष नेताहरूसँगको निरन्तर भेटवार्तालाई नेपाल–भारत सम्बन्ध तथा दलगत कूटनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। भारतीय राजनीतिक वृत्तले रास्वपा नेतृत्वलाई दिएको प्राथमिकता र स्वागतलाई नेपालमा समेत चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १० : ४६ बजे