नेपाली कांग्रेसले करिब पौने सात लाख क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको जनाएको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत डिजिटल प्रणालीमा प्रविष्ट विवरण अनुमोदन गरेको हो । केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष पनि बैठकले निकालेको छ ।
अभियानअन्तर्गत कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म वडा तहबाट अद्यावधिक सम्पन्न भएका तथा स्वयं अनलाइनमार्फत फाराम भरी वडा तहमा अनुमोदन प्रक्रियामा रहेका गरी ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको छ ।
त्यसमध्ये ५ लाख ३८ हजार ६२२ सदस्यले एनसीआईडी प्राप्त गरिसकेको कांग्रेसले जनाएको छ । बाँकी १ लाख ४९ हजार ३०९ सदस्यले पेश गरेको स्वयं अद्यावधिक फाराम हाल वडा तहबाट अनुमोदन प्रक्रियामा रहेको दुलालले जानकारी दिए ।
समितिले अनलाइनमार्फत प्रविष्ट भएका फाराम वडा तहबाट आगामी असार ५ गतेभित्र अनिवार्य रूपमा अनुमोदन गर्न निर्देशन दिएको छ । तोकिएको समयसीमाभित्र अनुमोदन नभए विधानअनुसार योग्य सदस्यको हकमा केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइने निर्णय गरिएको छ ।
यसैगरी इन्टरनेट पहुँच न्यून रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी क्षेत्रका केही पालिका तथा बारा र खोटाङ जिल्लामा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय असार ७ गतेसम्म तोकिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिका लागि भने यो अवधि असार १० गतेसम्म रहनेछ ।
क्रियाशील फाराम तथा नयाँ सदस्यता वितरण कार्य असार २० गतेसम्म सञ्चालन गरिने पनि समितिले जनाएको छ ।









