२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

अमेरिका र इरानबीच तनाव उत्कर्षमा: ट्रम्पद्वारा खार्ग टापु कब्जा गर्ने चेतावनी



अमेरिका र इरानबीचको सैन्य टकराव फेरि एकपटक युद्धको संघारमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुख्य तेल निर्यात केन्द्र ‘खार्ग टापु’ कब्जा गर्ने र इरानमाथि थप शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ र फक्स न्युजसँगको अन्तर्वार्तामा इरानमाथि बिहीबार राति “अझ ठुलो र शक्तिशाली” बमबारी गरिने धम्की दिएका छन् । ट्रम्पले इरानको कुल कच्चा तेल निर्यातको झन्डै ९० प्रतिशत हिस्सा ओगट्ने रणनीतिक खार्ग टापु नियन्त्रणमा लिने दाबी गरेका छन् ।

पेन्टागन र ह्वाइट हाउसका अधिकारीहरूका अनुसार खार्ग टापु कब्जा गर्ने वा त्यहाँको ऊर्जा पूर्वाधार ध्वस्त पार्ने योजना महिनाौँदेखि तयार भए पनि अत्यधिक जोखिम र ठुलो संख्यामा अमेरिकी सैनिक हताहत हुन सक्ने अनुमानका कारण यसलाई ‘अन्तिम विकल्प’ का रूपमा थाती राखिएको थियो । तर, इरानले अमेरिकी कारबाहीलाई गम्भीरतापूर्वक नलिएको भन्दै ट्रम्प आक्रोशित बनेका छन् र योजनालाई अघि बढाउने संकेत दिएका छन् ।

ट्रम्पको धम्की सार्वजनिक भएलगत्तै इरानले त्यसको कडा शब्दमा प्रतिवाद गरेको छ । इरानको संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर घालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, “गलत रणनीति र हतारोमा गरिएका निर्णयले सम्पूर्ण खेलको पासा झन् खराब बनाउनेछ । ऊर्जा पूर्वाधार र बजारहरू ध्वस्त पारेमा तपाईंहरू यस्तो अन्तहीन दलदलमा फस्नुहुनेछ, जहाँ वर्षौँसम्म तड्पिनुपर्नेछ । अब तपाईंहरूले फरक इरान देख्नुहुनेछ ।”

त्यसैगरी, इरानको संसदीय राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रमुख इब्राहिम अजिजीले अमेरिकी आक्रमण भएमा इरानले “क्रूर, पीडादायी र पछुतो गराउने” जवाफ दिने चेतावनी दिएका छन् । उनले खार्ग टापुमा इरानी सेना पूर्ण तयारी अवस्थामा रहेको र त्यहाँ ‘एन्टि-पर्सनल’ तथा ‘एन्टि-आर्मर’ माइनहरू (विष्फोटक धराप) बिछ्याइएको दाबी गरेका छन् ।

युद्धविराम प्रयासहरूका बाबजुद अमेरिकी सेनाले बुधबार राति इरानका विभिन्न सैन्य ठेगाना, सञ्चार प्रणाली र हवाई प्रतिरक्षा केन्द्रहरूमा छैटौँ पटक ‘आत्मरक्षा’ स्वरूप भन्दै टोमाहक क्रुज मिसाइल र हवाई बम प्रहार गरेको छ । यसपटकको आक्रमण तटीय क्षेत्रमा मात्र सीमित नभई राजधानी तेहरान नजिकका सहरहरू सम्म पुगेको छ, जसका कारण इरानले युद्धविरामको औचित्य समाप्त भएको घोषणा गरेको छ ।

तनावकै बीच इरानले विश्वकै प्रमुख तेल आपूर्ति मार्ग मानिने ‘हर्मुट जलघाँटी’ अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ । यद्यपि अमेरिकी सेनाले भने इरानको यो दाबीलाई अस्वीकार गरेको छ । मरिन ट्राफिकको तथ्यांकले उक्त जलक्षेत्रमा जहाजहरूको आवतजावत ठप्प प्रायः भएको देखाएको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रभावित हुने निश्चित देखिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १० : ५७ बजे