२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नेपाली कांग्रेसमा एकताको प्रयास सुस्तायो, इतर पक्षले छुट्टै महाधिवेशनको चेतावनी



नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच पार्टी एकताका लागि भइरहेको संवाद प्रक्रिया पुनः अवरुद्ध भएको छ। पछिल्लो एक सातादेखि दुवै पक्षबीच औपचारिक तथा अनौपचारिक संवाद ठप्प भएपछि पार्टीभित्र सहमतिभन्दा विभाजनको सम्भावना बढ्न थालेको नेताहरूले बताएका छन् ।

गत शुक्रबार उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको छलफलपछि सहमतिको वातावरण बन्ने अपेक्षा गरिएको थियो । छलफलमा दुवै पक्षका प्रस्तावमाथि कुराकानी भएको र सभापति गगन थापासँग थप संवाद गरेर पुनः बैठक बस्ने सहमति भएको बताइएको थियो। तर त्यसयता कुनै ठोस प्रगति हुन नसकेको खड्का पक्षको दाबी छ ।

निवर्तमान सभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत ३१ दिनदेखि सभापति गगन थापासँग सम्पर्क हुन नसकेको र पार्टी एकताका लागि कुनै प्रगति नभएको उल्लेख गरेपछि विवाद थप चर्किएको छ। खड्काको उक्त अभिव्यक्तिप्रति उपसभापति शर्मा असन्तुष्ट रहेको बताइएको छ ।

यसबीच शर्माले सहमतिका लागि तयार पारिएको प्रस्ताव इतर पक्षका शीर्ष नेताहरूलाई ह्वाट्सएपमार्फत पठाएको दाबी गरे पनि नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले त्यस्तो कुनै औपचारिक प्रस्ताव प्राप्त नभएको बताएका छन्। नेता प्रकाशशरण महतले समेत संस्थापन पक्षसँग कुनै संवाद नभएको प्रतिक्रिया दिएका छन् ।

दुवै पक्षका आ–आफ्नै प्रस्ताव

विशेष महाधिवेशनपछि विभाजित बनेको कांग्रेसलाई पुनः एकताबद्ध बनाउन सभापति गगन थापाले विभिन्न प्रस्ताव अघि सारेका छन् । थापाको प्रस्तावअनुसार पूर्णबहादुर खड्का र शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने तथा केही नयाँ केन्द्रीय सदस्य मनोनयन गर्ने विकल्प प्रस्तुत गरिएको छ ।

यस्तै निर्वाचन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र विधान संशोधन समितिमा इतर पक्षको सिफारिसका आधारमा सदस्य थप्न सकिने प्रस्ताव पनि संस्थापन पक्षले अघि सारेको छ ।

इतर पक्षले भने १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने, १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका संरचनाको समायोजन गर्नुपर्ने तथा विभिन्न समितिहरू सहमतिका आधारमा पुनर्गठन गर्नुपर्ने माग राखेको छ ।

प्रदेश भेलाबाट दबाब बढाउने तयारी

सहमति प्रक्रिया लम्बिँदै गएपछि इतर पक्षले प्रदेशस्तरीय भेला तीव्र बनाउने रणनीति अपनाएको छ। नेता विमलेन्द्र निधिले अब धेरै समयसम्म प्रतीक्षा नगर्ने संकेत दिएका छन् ।

उनले संस्थापन पक्षसँग सहमति नभए १५औँ महाधिवेशनको छुट्टै तयारी अघि बढाइने बताए। उनका अनुसार प्रदेशस्तरीय भेलापछि राष्ट्रिय भेला आयोजना गरी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिनेछ ।

जेठ ३१ गते कोसी प्रदेशमा आयोजना हुने इतर पक्षीय भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला एउटै मञ्चमा देखिने भएका छन् । विराटनगरमा हुने उक्त भेलामा विजयकुमार गच्छदार, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, एनपी साउद, डा. मिनेन्द्र रिजाललगायत नेताहरूको सहभागिता रहने बताइएको छ ।

देउवा पक्षले यसअघि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत यस्तै भेला सम्पन्न गरिसकेको छ भने मधेश प्रदेशमा पनि प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी गरिएको छ ।

छुट्टै महाधिवेशनमा मत विभाजित

यद्यपि, इतर पक्षभित्रै छुट्टै महाधिवेशन गर्ने विषयमा एकमत देखिएको छैन। शेखर कोइराला निकट नेता बद्री पाण्डेले अहिले पनि प्राथमिकता पार्टी एकतालाई नै दिइएको बताए ।

तर अर्का नेता केदार कार्कीले भने संस्थापन पक्षमाथि दबाब बढाउनुपर्ने धारणा राख्दै कोसी प्रदेश भेलाबाट नयाँ राजनीतिक निष्कर्ष निकालिने संकेत दिएका छन् ।

संस्थापन पक्षको दाबी : सहमति नजिक

यता संस्थापन पक्षका नेताहरू भने कांग्रेसमा दुईवटा महाधिवेशन हुने अवस्था नआउने दाबी गर्छन्। सहमहामन्त्री योगेन्द्र चौधरीले शीर्ष नेताहरूबीच निरन्तर संवाद भइरहेको र छिट्टै सहमति हुने विश्वास व्यक्त गरे ।

उनले बाहिर धेरै गतिविधि नदेखिए पनि पार्टी एकताका लागि दैनिक प्रयास जारी रहेको बताउँदै कांग्रेस विभाजनतर्फ नजाने दाबी गरे ।

पार्टीभित्रको संवाद प्रक्रिया अवरुद्ध हुँदा कांग्रेसमा एकताको सम्भावनाभन्दा संकट गहिरिने संकेत देखिए पनि दुवै पक्षका नेताहरूले अन्तिम समयसम्म सहमतिको ढोका खुला रहेको बताएका छन् । १५औँ महाधिवेशनको तयारी र नेतृत्व व्यवस्थापनको विषयले कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्दै गएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ९ : ३८ बजे