२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सुस्तामा भारतीय एसएसबी प्रवेश गरेपछि स्थानीयको प्रतिकार, केहीबेर तनाव



पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूभागमा प्रवेश गरेपछि स्थानीयवासीले प्रतिकार गरेका छन् । केही समय सामान्य विवादको अवस्था सिर्जना भए पनि दुवै देशका सुरक्षाकर्मीको पहलमा स्थिति सामान्य बनेको छ ।

स्थानीयका अनुसार शुक्रबार बिहान करिब ७ बजे सुस्ता गाउँपालिका–५ को थारू टोल क्षेत्रमा एसएसबीका सुरक्षाकर्मी प्रवेश गरेका थिए । खेतमा काम गरिरहेका स्थानीयले उनीहरूलाई नेपाली भूमिमा किन आएको भन्दै तत्काल फर्कन आग्रह गरेका थिए। स्थानीयको विरोधपछि केही समय सामान्य वादविवाद भएको थियो ।

यसअघि गत जेठ १७ गते नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्न भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेपछि सुस्ता क्षेत्र दुवै देशका सुरक्षाकर्मीको विशेष निगरानीमा रहेको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेले भारतीय सुरक्षाकर्मी नियमित गस्तीका क्रममा सीमा नजिक पानी जमेको क्षेत्र पार गर्न नेपालतर्फ आएको बताए । उनका अनुसार नेपाली सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेपछि अवस्था सामान्य बनेको छ ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा देखिएपछि स्थानीयले विरोध जनाएको जानकारी दिए । उनले स्थानीयले भारतीय पक्षलाई आफ्नो भूभागमा प्रवेश नगर्न चेतावनी दिएपछि केहीबेर विवाद भएको र त्यसपछि दुवै पक्षका सुरक्षाकर्मीको समन्वयमा समस्या समाधान भएको बताए ।

दशकौँदेखि विवादमा सुस्ता

सुस्ता क्षेत्र नेपाल–भारत सीमा विवादको संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ । स्थानीयका अनुसार तत्कालीन राजा महेन्द्रको पालामा सुस्तामा भूपू सैनिकसहित करिब ४ सय परिवारको बस्ती बसालिएको थियो । तर २०३४ सालमा नारायणी नदीले धार परिवर्तन गरेपछि बस्ती प्रभावित भई धेरै परिवार विस्थापित भएका थिए ।

स्थानीयवासीले त्यसयता भारतीय पक्षले सीमा स्तम्भको अभावको फाइदा उठाउँदै अतिक्रमण बढाएको आरोप लगाउँदै आएका छन् । सुस्ताको कुल ४० हजार ९८० हेक्टर क्षेत्रफलमध्ये करिब १४ हजार हेक्टर भूमि भारतको कब्जामा रहेको र १९ हजार ४८० हेक्टर क्षेत्र विवादित अवस्थामै रहेको दाबी स्थानीयको छ। हाल सुस्ताबासीले करिब ७ हजार ५०० हेक्टर क्षेत्रफल मात्र जोतभोग गर्दै आएका छन् ।

सीमा स्तम्भको अभावले बढ्दै विवाद

सनहीदेखि कुडियासम्मको क्षेत्रमा १६ वटा सीमा स्तम्भ भए पनि सुस्ताको करिब २४ किलोमिटर क्षेत्रमा कुनै स्थायी सीमा स्तम्भ छैन । सीमा निर्धारणका लागि खोला, रुख तथा अन्य प्राकृतिक संकेतमा निर्भर रहनुपर्दा सीमावर्ती क्षेत्रका नागरिकबीच पटक–पटक विवाद हुने गरेको छ ।

स्थानीयका अनुसार नेपाल–भारतबीच विवादित मानिएको क्षेत्रमा रहेको एउटा सिमलको रुखलाई लामो समयदेखि अस्थायी सीमा चिन्हका रूपमा मानिँदै आएको छ । सीमा स्तम्भको अभाव र नारायणी नदीको बदलिँदो धारका कारण सुस्ता क्षेत्र नेपाल–भारत सीमा विवादको केन्द्रबिन्दु बन्दै आएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ९ : ४२ बजे