भारत भ्रमणबाट फर्किएको केही दिनमै परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि चीन पुगेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल आइतबार बेइजिङ पुगेका हुन् ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार आइतबार अपराह्न चीनको राजधानी बेइजिङ पुगेका थिए । उनलाई विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आइतबार साँझ स्वागत समारोह आयोजना गरेको छ । उक्त कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको दूतावासले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने र आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यसका अतिरिक्त उनले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा समेत सहभागिता जनाउनेछन् । सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
भारत भ्रमणपछि भएको चीन भ्रमणलाई नेपालले दुवै छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धलाई सन्तुलित र सक्रिय रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ । मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।









