३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

अनुमतिबिना नेपाली आकाशमा भारतीय सैनिक हेलिकोप्टर, सरकारले जवाफ माग्दै



भारतीय सेनाको एक हेलिकोप्टर पूर्वअनुमतिबिना नेपाली हवाई क्षेत्रमा प्रवेश गरी कालापानी पुगेको घटना सार्वजनिक भएपछि नेपालले भारतीय पक्षसँग स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाएको छ ।

स्थानीय प्रशासन र सुरक्षा स्रोतका अनुसार जेठ २७ गते बिहान करिब १० बजे भारतीय सेनाको हेलिकोप्टर दार्चुलाको व्यास गाउँपालिका–१ अन्तर्गत छाङरु क्षेत्रको आकाश हुँदै कालापानी पुगेको थियो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले उक्त हेलिकोप्टरले नेपाल सरकारको अनुमति नलिई नेपाली आकाश प्रयोग गरेको पुष्टि गरेका छन् ।

‘भारतीय सैनिक हेलिकोप्टर अनुमति बेगरै नेपाली आकाश हुँदै कालापानी गएको पाइयो,’ सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए ।

सुरक्षा स्रोतका अनुसार हेलिकोप्टरमा भारतको इन्डो–टिबेटन बोर्डर पुलिस (आईटीबीपी) का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार थिए । उनी कालापानी क्षेत्रको गुञ्जीस्थित ब्यारेक निरीक्षणका लागि पुगेको बुझिएको छ । सोही क्रममा उनले आदि कैलाश र ओम पर्वत क्षेत्रको पनि अवलोकन गरेको सुरक्षा स्रोतको भनाइ छ ।

हेलिकोप्टर नेपाली आकाशमा प्रवेश गरेलगत्तै छाङरुस्थित सशस्त्र प्रहरी बलको गुल्मले घटनाबारे माथिल्लो निकायलाई जानकारी गराएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई पनि घटनाको जानकारी गराइएको थियो ।

स्थानीयवासीहरूले हेलिकोप्टर बस्तीमाथि उडेपछि विरोध जनाएका थिए । छाङरुका एक स्थानीयका अनुसार यसअघि भारतीय हेलिकोप्टरहरू महाकाली नदी आसपासबाट आवतजावत गर्ने गरे पनि उक्त दिन भने बस्तीमाथि नै उडेकाले स्थानीयले नाराबाजी गर्दै विरोध गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनसँग औपचारिक रूपमा जवाफ माग्ने तयारी गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धामीका अनुसार पिथौरागढस्थित भारतीय जिल्ला प्रशासनसँग हेलिकोप्टर किन नेपाली आकाशमा प्रवेश गर्‍यो भन्ने विषयमा स्पष्टीकरण माग्न प्रक्रिया सुरु भइसकेको छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार कुनै पनि देशको हवाई क्षेत्रमा अर्को देशको विमान वा हेलिकोप्टर पूर्वस्वीकृतिबिना प्रवेश गर्नु ‘एयरस्पेस भायोलेसन’ अर्थात् हवाई क्षेत्र उल्लंघन मानिन्छ ।

दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपाल र भारतबीच विवादित भूभागका रूपमा रहँदै आएका छन् । नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार ती क्षेत्र दार्चुलाको व्यास गाउँपालिकाभित्र पर्दछन् भने भारतले त्यहाँ लामो समयदेखि सेना, आईटीबीपी र एसएसबी तैनाथ गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ९ : ५० बजे