३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

बोस्टनमा पुनः सप्ताहव्यापी ज्ञान महायज्ञ हुने



कृष्णराज खनाल

अमेरिका । अमेरिकाको बोस्टनमा आगामी भदौ १ गतेदेखि भदौ ७ गतेसम्म (अगस्ट १६ देखि २३ सम्म) सप्ताहव्यापी ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

आयोजक संस्था पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इङ्गल्यान्ड (प्याव्फोन) का अनुसार महायज्ञको तयारी तीव्र रूपमा भइरहेको छ ।

महायज्ञमा मुख्य वाचकका रूपमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल सहभागी हुनुहुनेछ । प्याव्फोनले उक्त धार्मिक कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण भक्तजनलाई आग्रह गरेको छ ।

करिब १० वर्षअघि प्याव्फोनद्वारा आयोजित सप्ताहमा पनि पण्डित दीनबन्धु पोखरेल मुख्य वाचकका रूपमा सहभागी थिए । त्यसबेला नगद तथा प्रतिबद्धतासहित करिब १७ लाख अमेरिकी डलर संकलन भएको थियो । त्यसमध्ये करिब ६ लाख डलर उठ्न बाँकी रहेको जनाइएको छ ।

उक्त अभियानपछि प्याव्फोनले आफ्नै स्वामित्वमा एक चर्च खरिद गरी पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तूपासहितको धार्मिक परिसर निर्माण गरेको थियो ।

‘हामीमाथि अझै करिब ६ लाख डलर ऋणको दायित्व बाँकी छ । त्यो रकम संकलन गर्नु नै यस ज्ञान महायज्ञको मुख्य उद्देश्य हो,’ प्याव्फोनका अध्यक्ष ध्रुव घिमिरेले बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिका कारण विगतजस्तो उत्साह र आर्थिक सहयोगको वातावरण नरहे पनि मन्दिर र स्तूपा संरक्षण तथा विकासका लागि स्थानीय नेपाली समुदायमा सकारात्मक भावना रहेको छ ।

ज्ञान महायज्ञको सफल आयोजनाका लागि प्याव्फोन कार्यसमिति र ट्रस्टी बोर्डको संयुक्त बैठकले ग्रेटर बोस्टन नेपाली कम्युनिटीका पूर्वअध्यक्ष मिलन कार्कीको संयोजकत्वमा १३ सदस्यीय तयारी समिति गठन गरेको छ । समितिअन्तर्गत विभिन्न उपसमितिहरू बनाएर तयारीका कामहरू अघि बढाइएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ९ : ४० बजे