३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

के एमाले फुट्न लागेको हो र?



नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको जोखिम रहेको भन्दै उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

बागमती प्रदेशका नेताहरूसँग भक्तपुरको गुन्डुमा भएको अनौपचारिक भेटमा ओलीले विपक्षीको योजनाअनुसार केही नेताहरू पार्टी विभाजनको दिशामा अघि बढिरहेको दाबी गरेको स्रोतहरूले बताएका छन् ।

शनिबार बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम सम्पन्न भएपछि प्रदेशका केही नेताहरूलाई गुन्डुस्थित निवासमा बोलाएर ओलीले लामो छलफल गरेका थिए । कार्यक्रममा सहभागी नेताहरूका अनुसार ओलीले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनीहरू पार्टी फुटाउने अभियानमा रहेको विश्लेषण प्रस्तुत गरेका थिए ।

स्रोतका अनुसार बागमती प्रदेशका केही नेताहरूले सुझाव संकलन कार्यक्रममा उपाध्यक्ष पौडेलले पार्टी पुनर्गठनको पक्षमा राखेका धारणा ओलीसमक्ष सुनाएका थिए। त्यसक्रममा ओलीले पुनर्गठनको नाममा पार्टी विभाजनको प्रयास भइरहेको दाबी गरेका थिए ।

‘विपक्षीको योजनाअनुसार केही नेताहरू एमाले विभाजन गर्न चाहिरहेका छन्, केही मानिस फुटेर जान पनि सक्छन्,’ ओलीलाई उद्धृत गर्दै नेताहरुले भनेका छन् ।

ओलीले आफ्नो चाहनाविपरीत निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरिएको भन्दै त्यसबाट पार्टीभित्र अनावश्यक विवाद सिर्जना भएको टिप्पणी गरेका थिए । उनले बागमती प्रदेशमा पुनर्गठन सम्बन्धी कार्यक्रम भइसकेको उल्लेख गर्दै अन्य प्रदेशमा त्यस्ता गतिविधि अघि नबढाउनुपर्ने संकेत समेत गरेको स्रोतको दाबी छ ।

छलफलका क्रममा ओलीले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति चर्को असन्तुष्टि व्यक्त गरेका थिए । उनले दुवै नेताको भूमिकामाथि प्रश्न उठाउँदै पार्टीलाई संकटतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका थिए ।

स्रोतका अनुसार ओलीले आफूविरुद्ध कानुनी तथा राजनीतिक दबाब परेको बेला पनि विष्णु पौडेलले सार्वजनिक रूपमा समर्थन नगरेको भन्दै असन्तुष्टि पोखेका थिए । उनले पौडेललाई आफ्नो पक्षमा सामाजिक सञ्जालमार्फत धारणा राख्न आग्रह गरेको तर त्यसमा पनि सकारात्मक प्रतिक्रिया नपाएको गुनासो गरेका थिए ।

यता, सुझाव संकलन कार्यक्रममा सहभागी अधिकांश नेताहरूले भने पार्टीको पुनर्गठन आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा सहभागी एक नेताका अनुसार करिब ९० प्रतिशतभन्दा बढी वक्ताले संगठनात्मक पुनर्गठनमार्फत एमालेलाई पुनः सशक्त बनाउनुपर्ने मत व्यक्त गरेका थिए ।

उपाध्यक्ष पौडेलले कार्यक्रममै एमालेको जनाधार र प्रतिष्ठा पुनर्स्थापना गर्न पार्टी पुनर्गठन अपरिहार्य रहेको बताएका थिए । कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत उनले निर्वाचनको वस्तुनिष्ठ समीक्षा र पार्टी पुनर्गठनको जिम्मेवारी पूरा गर्न नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

एमालेभित्र बढ्दो बहसका बीच महासचिव शंकर पोखरेलले आइतबार सामाजिक सञ्जालमा जनभावनाको सम्मान गर्दै पार्टीको जनसम्बन्ध सुदृढ गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । उनले “जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन” भन्दै अप्रत्यक्ष रूपमा पार्टीभित्र देखिएको विवादप्रति संकेत गरेका छन् ।

एमालेभित्र पार्टी पुनर्गठनको बहस र नेतृत्वप्रतिको समर्थन–विरोधबीच पछिल्ला दिनमा आन्तरिक मतभेद सतहमा आउन थालेका छन् । यद्यपि शीर्ष नेताहरूले सार्वजनिक रूपमा पार्टी विभाजनको सम्भावना अस्वीकार गर्दै आएका छन् । तर पछिल्ला घटनाक्रमले एमालेभित्र नेतृत्व, संगठनात्मक पुनर्संरचना र आगामी राजनीतिक दिशाबारे गम्भीर बहस सुरु भएको संकेत गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ९ : ४३ बजे