१ असार २०८३, सोमबार | Mon Jun 15 2026

रास्वपाको महाधिवेशन तयारी तीव्र, सात हजारभन्दा बढी कुर्सी अट्ने सभाहल निर्माण हुँदै



चितवन । Rastriya Swatantra Party (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। आगामी असार ७ देखि ९ गतेसम्म पूर्वी चितवनको रत्ननगरमा हुने तीनदिने महाधिवेशनका लागि सात हजारभन्दा बढी कुर्सी अट्ने अस्थायी सभाहल निर्माणको काम धमाधम भइरहेको छ।

रत्ननगर नगरपालिका–१ स्थित टाँडीमा रहेको होटल स्टारको सभाकक्षसँगै रहेको खाली जग्गा र टिनको टहरालाई जोडेर ३२ हजार ४८० वर्गफिट क्षेत्रफलमा महाधिवेशनस्थल निर्माण गर्न थालिएको हो। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार सातदेखि आठ हजार जना अट्ने क्षमता भएको डोम निर्माण भइरहेको छ।

निर्माणाधीन डोमको बीच भाग २९ फिट र छेउका भाग १६ फिट अग्लो हुनेछ। माथिबाट पानी नचुहिने उच्चस्तरीय त्रिपालयुक्त टेन्ट जडान गरिनेछ। अस्थायी संरचना निर्माणमा मुख्य रूपमा बाँसको प्रयोग गरिँदैछ।

महाधिवेशनस्थललाई गर्मीबाट सहज बनाउन डोमभित्र ७० वटा ठूला पङ्खा र २० वटा कुलर जडान गरिने तयारी गरिएको छ। बाहिरपट्टि पनि टेन्ट राखेर सहभागीहरूका लागि अतिरिक्त बस्ने व्यवस्था मिलाइनेछ। आवश्यक परेमा सँगै रहेको होटल स्टारको ठूलो सभाहलसमेत प्रयोग गरिने नेताहरूले बताएका छन्।

महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधि तथा पाहुनाका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलहरूमा आवास व्यवस्थाको तयारी गरिएको छ। होटल व्यवसायीसँग सहुलियत दरमा कोठा उपलब्ध गराउन अनुरोध गरिएको र आवास खर्च सहभागी स्वयंले बेहोर्ने व्यवस्था गरिएको छ।

उद्घाटन समारोहका दिन कार्यक्रमस्थल आसपासको भीड व्यवस्थापनका लागि टिकौलीचौरमा सवारीसाधन पार्किङ गर्ने र त्यहाँबाट सटल सेवामार्फत सहभागीलाई महाधिवेशनस्थलसम्म ल्याउने–पुर्‍याउने योजना बनाइएको छ।

पार्टीका प्रवक्ता मनिष झाले स्थानीय जिल्ला कमिटीमार्फत तयारीका काम भइरहेको जानकारी दिँदै असार २ गतेदेखि महाधिवेशन सचिवालय सञ्चालनमा आउने बताए। उनका अनुसार असार ४ गतेदेखि पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरू महाधिवेशनस्थलमै रहनेछन्।

रास्वपाले महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रिय राजनीतिक दलका प्रमुखहरू तथा छिमेकी मुलुकका प्रतिनिधिहरूलाई समेत आमन्त्रण गर्ने तयारी गरेको छ। पार्टीका अनुसार करिब तीन हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

रास्वपाको स्थापना पछिको पहिलो राष्ट्रिय महाधिवेशन भएकाले यसलाई पार्टीको भावी नेतृत्व चयन, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ९ : ४४ बजे