१ असार २०८३, सोमबार | Mon Jun 15 2026

सेफ सन्तोष साह किन पुगे प्रहरी हिरासतमा ?



नेपाली मूलका चर्चित सेफ सन्तोष साह यतिबेला ठगीसम्बन्धी आरोपमा प्रहरी हिरासतमा छन् । जिल्ला अदालत काठमाडौंले उनीमाथि थप अनुसन्धान गर्न प्रहरीलाई तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई जनकपुरबाट पक्राउ गरी जेठ ३० गते काठमाडौं ल्याएको थियो। उनीसँगै मिथिला थाली रेस्टुरेन्टका साझेदार नारायण साह सुडीमाथि पनि अनुसन्धान भइरहेको छ ।

यो विवाद गैरीधारास्थित शिला रेस्टुरेन्टको खरिद–बिक्रीसँग जोडिएको छ । सन्तोष साह आबद्ध समूहले उक्त रेस्टुरेन्ट आर्जब होल्डिङ प्रालिबाट २ करोड २५ लाख रुपैयाँमा खरिद गर्ने सम्झौता गरेको थियो । आर्जब होल्डिङ र मिथिला थालीबीच २०८१ जेठ २४ गते पहिलो सम्झौता भएको थियो भने त्यसलाई संशोधन गर्दै भदौ १७ गते दोस्रो सम्झौता गरिएको थियो । सम्झौतामा आर्जबका तर्फबाट सचिन भण्डारी र मिथिला थालीका तर्फबाट रामहित साहले हस्ताक्षर गरेका थिए भने सन्तोष साह साक्षीका रूपमा रहेका थिए ।

सम्झौताअनुसार मिथिला थालीले बैनाबापत १५ लाख रुपैयाँ दिनुका साथै रेस्टुरेन्टको बाँकी भाडा, विद्युत् महसुल र नेपाल बैंकमा रहेको १ करोड ३५ लाखभन्दा बढी ऋण समेत चुक्ता गर्नुपर्ने व्यवस्था थियो । साथै खरिद रकमको बाँकी हिस्सा पनि किस्ताबन्दीमा तिर्ने सहमति भएको थियो। तर आर्जब पक्षका अनुसार सम्झौताअनुसार बैंकको ऋण भुक्तानी नभएपछि बैंकले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको थियो । बैंकले पटक–पटक ताकेता गर्दा पनि ऋण नतिरेपछि सम्पत्ति जोगाउन आफूहरूले नै किस्ता तिर्नुपरेको उनीहरूको दाबी छ ।

विवाद त्यसपछि थप चर्कियो जब मिथिला थालीका तर्फबाट जारी गरिएका केही चेक बाउन्स भए । नबिल बैंकबाट जारी भएका लाखौं रुपैयाँ बराबरका चेकहरू खातामा पर्याप्त रकम नभएका कारण सटही हुन सकेनन् । अर्को एक चेकमा कम्पनीको आधिकारिक छापसमेत नराखिएको भन्दै आर्जब पक्षले ठगीको उजुरी दिएको थियो। त्यसपछि मुद्दा अदालत र प्रहरी अनुसन्धानसम्म पुगेको हो ।

यसअघि बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्तोष साहसहित चार जनालाई जनही एक लाख २५ हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाएको थियो । उनीहरू धरौटीमा रिहा भई तारेखमा रहेका थिए। अहिले भने ठगीसम्बन्धी छुट्टै आरोपमा प्रहरीले पुनः अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अदालतबाट म्याद थप गरेर आवश्यक प्रमाण संकलन तथा बयान लिने काम भइरहेको छ । अनुसन्धान पूरा भएपछि मात्र सन्तोष साह र अन्य आरोपितविरुद्ध औपचारिक अभियोग दर्ता हुने वा नहुने टुंगो लाग्नेछ । हाल उनीमाथि आरोप लागेको अवस्था मात्र हो, अदालतबाट अन्तिम दोषी ठहर भइसकेको छैन ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ९ : ५० बजे