२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

रास्वपाको पहिलो महाधिवेशन नजिकिँदै, पदाधिकारीका आकांक्षीको दौड तीव्र



सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र पदाधिकारी बन्ने आकांक्षीहरूको संख्या बढ्न थालेको छ । प्रतिनिधिसभामा झन्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ ।

पार्टीको प्रस्तावित विधानअनुसार १६ सदस्यीय पदाधिकारी संरचना रहनेछ । सभापतिसहित १० जना पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६ जना पदाधिकारी सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

पार्टीभित्र सभापति पदमा भने हालसम्म कुनै प्रतिस्पर्धा देखिएको छैन। स्रोतका अनुसार वर्तमान सभापति रवि लामिछाने निर्विरोध चयन हुने सम्भावना बलियो छ। तर अन्य पदहरूमा भने आकांक्षीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ ।

प्रस्तावित विधानमा तीन उपसभापति रहने व्यवस्था गरिएको छ, जसमध्ये एक पद महिला अनिवार्य हुनेछ । महिला उपसभापति पदका लागि कोषाध्यक्ष लिमा अधिकारी, सह–कोषाध्यक्ष वसुमाया तामाङ, सह–प्रवक्ता प्रतिभा रावल, सचिवालय सदस्यहरू सोबिता गौतम र सरिताश्री ज्ञवाली, केन्द्रीय सदस्य इन्दिरा राना तथा समीक्षा बास्कोटाको नाम चर्चामा रहेको बताइएको छ ।

यीमध्ये वसुमाया तामाङ सांसद हुन् भने प्रतिभा रावल र सोबिता गौतम सरकारमा मन्त्रीको जिम्मेवारीमा छन् । विवेकशील साझाबाट रास्वपामा समाहित भएकी समीक्षा बास्कोटालाई पनि बलियो दाबेदारका रूपमा हेरिएको छ ।

दुई खुला उपसभापति पदमध्ये अर्थमन्त्री स्वर्णिम वाग्लेको नाम लगभग निश्चितजस्तै मानिएको छ। सभामुख बनेपछि डोलप्रसाद अर्यालले छाडेको स्थानका लागि सुनील लम्साल, विराजभक्त श्रेष्ठ र गणेश कार्कीबीच प्रतिस्पर्धा हुन सक्ने अनुमान गरिएको छ ।

लम्साल पूर्वाधार विकास मन्त्री हुन् भने कार्की संसदीय समितिका सभापति छन् । विराजभक्त श्रेष्ठ पार्टीका संस्थापक नेतामध्ये एक तथा वर्तमान ऊर्जामन्त्री हुन् ।

दुई सदस्यीय महामन्त्री पदका लागि पनि आकांक्षीहरूको सूची लामो देखिएको छ । वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाह पुनः दोहोरिने प्रयासमा छन् ।

यसका अतिरिक्त विपिन आचार्य, दीपक बोहरा, मनिष झा तथा प्रमोद न्यौपानेले पनि महामन्त्री पदमा रुचि देखाएका छन् । उपसभापति बन्ने सम्भावना कमजोर भए सोबिता गौतम पनि महामन्त्रीको दौडमा आउन सक्ने नेताहरूको भनाइ छ ।

पार्टीको नीति निर्माण, विधान मस्यौदा तथा निर्वाचन रणनीति निर्माणमा भूमिका खेलेका विपिन आचार्यलाई संगठनात्मक रूपमा बलियो उम्मेदवार मानिएको छ। दीपक बोहरा भने सभापति लामिछानेका निकट सहयोगीका रूपमा चिनिन्छन् ।

चार सदस्यीय सह–महामन्त्री पदमा पनि प्रतिस्पर्धा हुने देखिएको छ। एक महिला अनिवार्य हुने उक्त पदका लागि क्रान्तिशिखा धिताल, टीका संग्रौला (ज्वाला) र कुसुम महर्जनको नाम चर्चामा छ ।

खुलातर्फ शिशिर खनाल, रमेश प्रसाईं, असिम शाह, रोहन कार्की, प्रकाशचन्द्र परियार, खगेन्द्र सुनार तथा सागर ढकालको नाम चर्चामा रहेको बताइएको छ ।

त्यसैगरी सांसद तथा पार्टीका सक्रिय नेतृहरू डा. तोसिमा कार्की र निशा डाँगी पनि पदाधिकारी बन्ने आकांक्षीका रूपमा हेरिएका छन्। उनीहरूले कुन पदमा दाबी गर्ने भन्ने विषय भने अझै स्पष्ट भएको छैन ।

प्रस्तावित विधानअनुसार पहिलो चरणमा सभापतिसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ । त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट बाँकी पदाधिकारी चयन गरिनेछ। दुवै चरणमा महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ ।

यसका अतिरिक्त प्रवक्ता, तीन सह–प्रवक्ता, कोषाध्यक्ष र सह–कोषाध्यक्ष पदमा सभापतिले मनोनयन गर्ने अधिकार पाउनेछन् ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । स्वयंसेवक र पर्यवेक्षकसहित सहभागी संख्या चार हजारको हाराहारी पुग्ने अनुमान गरिएको छ ।

पार्टीले वडा तहदेखि अधिवेशन प्रक्रिया सञ्चालन गरिरहेको छ । हालसम्म ४ हजार ३६३ वडा, करिब ६०९ पालिका र ६४ जिल्ला समितिको अधिवेशन सम्पन्न भइसकेको छ। केही जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ भने छ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भइसकेको जानकारी दिइएको छ ।

रास्वपाको पहिलो महाधिवेशनमा प्रवास समितिबाट १७० प्रतिनिधिको सहभागिता रहने बताइएको छ। भारत, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, मलेसिया, दक्षिण कोरिया लगायतका देशबाट प्रतिनिधित्व हुनेछ। भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिलाई भर्चुअल माध्यमबाट सहभागी गराउने विकल्पबारे पनि छलफल भइरहेको छ ।

पार्टी नेतृत्वले सकेसम्म सहमतिका आधारमा महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको जनाएको छ। महामन्त्री बुर्लाकोटीले कार्यकर्ता तथा नागरिकको भावना समेत सहमतिमूलक महाधिवेशनतर्फ रहेको उल्लेख गर्दै एकताबद्ध रूपमा नेतृत्व चयन गर्ने प्रयास जारी रहेको बताए ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १० : ०३ बजे