२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालद्वारा उच्चस्तरीय भेटवार्ता, लगानी प्रवर्द्धनमा जोड



चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार विभिन्न राजनीतिक नेतृत्व, उद्योगी–व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिसँग भेटवार्ता र अन्तरक्रिया गर्दै नेपाल–चीन सम्बन्ध सुदृढीकरण तथा आर्थिक सहकार्य विस्तारमा जोड दिएका छन् ।

बालेन्द्र सरकार गठनपछि पहिलोपटक चीन भ्रमणमा पुगेका मन्त्री खनालले दुई देशबीचको राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन कूटनीतिक सक्रियता बढाएका छन् ।

भ्रमणका क्रममा उनले चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नवगठित सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे आफ्नो धारणा राखेका छन् ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनालले साँझ नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित लगानी सम्मेलनमा सहभागिता जनाएका थिए । सम्मेलनमा चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्तासँग उनले विस्तृत छलफल गरेका थिए भने नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराइएको थियो ।

लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए । उनले नेपालको आर्थिक सम्भावना, युवा जनशक्ति तथा रणनीतिक अवस्थाबारे चर्चा गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा लगानी बोर्ड नेपालका प्रतिनिधिले पनि नेपालका विभिन्न क्षेत्रमा उपलब्ध लगानी अवसरबारे प्रस्तुति दिएका थिए ।

यसअघि मंगलबार बिहान मन्त्री खनालले चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) को नेशनल कमिटीका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए । भेटमा विकास सहयोग, व्यापार, लगानी, पर्यटन प्रवर्द्धन तथा राजनीतिक आदान–प्रदानका विषयमा छलफल भएको बताइएको छ। साथै नागरिक–नागरिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत दुई पक्षबीच विचार आदान–प्रदान भएको थियो ।

भ्रमणका क्रममा मन्त्री खनालले नेपाल–चीन ऐतिहासिक सम्बन्धको प्रतीक मानिने श्वेत चैत्य (ह्वाइट स्तूप) को पनि अवलोकन गरेका छन् । नेपाली कलाकार तथा वास्तुकार अरनिकोले डिजाइन गरेको उक्त स्मारक बेइजिङका महत्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ । श्वेत चैत्यको अवलोकनका क्रममा मन्त्री खनालले अरनिकोको योगदानको स्मरण गर्दै नेपाल र चीनबीचको सात सय वर्षभन्दा पुरानो सांस्कृतिक सम्बन्धको महत्वलाई उजागर गरेका थिए ।

यसअघि सोमबार मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै, उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग पनि छलफल गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालको भ्रमण नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउने तथा व्यापार, लगानी र विकास सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यमा केन्द्रित रहेको छ। उनी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १० : १४ बजे