न्युयोर्क– नेपाल आदिवासी जनजाति महासंघ (फिफना) अमेरिकाको आयोजनामा ३२औ विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न भयो । विविध जातजाति, भाषा, धर्म, संस्कृति र मौलिक पहिचानलाई समेट्दै आयोजित कार्यक्रममा आकर्षक झा“की, परम्परागत पोसाक, सांस्कृतिक नृत्य तथा विभिन्न कलात्मक प्रस्तुतिले न्युयोर्कमा नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा न्युयोर्कस्थित नेपाली कन्सुलेटका महावाणिज्यदूत दधिराम भण्डारी र विशेष अतिथिको रुपमा धर्मगुरु खेन रिन्पोचे सांगे रंगजुङको उपस्थित थिए । त्यस्तैग्रान्ड मार्सलका रूपमा समिर महर्जन सहभागी थिए । उक्त अवसरमा आयोजक संस्थाका अध्यक्ष पासाङ दोर्जे शेर्पा (एपी लामा) ले प्रमुख तथा विशिष्ट अतिथिहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए भने महासंघका महासचिव सुमन थाम्सुहाङ लिम्बुले कार्यक्रम सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष शम्भु राईले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष पासाङ दोर्जे शेर्पा (एपी लामा) ले नेपालका आदिवासी जनजातिको भाषा, धर्म, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि राज्यको भूमिका अझ सशक्त र परिणाममुखी हुनुपर्ने बताए । उनले आदिवासी जनजातिका साझा विषय तथा सवाललाई प्रभावकारी ढंगले सम्बोधन गर्न नेपाल सरकारले छुट्टै ‘आदिवासी जनजाति मन्त्रालय गठन गर्नुपर्ने माग गरेका थिए । ।
अध्यक्ष शेर्पाले आदिवासी जनजातिका अधिकार प्राप्तिका लागि विगतमा अग्रजहरूले गरेको संघर्ष, त्याग र बलिदानको स्मरण गर्दै ती संघर्षबाट प्राप्त संवैधानिक अधिकारलाई केवल दस्तावेजमा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे। संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट नीति, पर्याप्त संस्थागत संरचना र राज्यको दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।

उनले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति, कला, परम्परा र सम्पदा कुनै एउटा जाति वा समुदायको मात्र सम्पत्ति नभई समग्र नेपालको अमूल्य राष्ट्रिय सम्पदा भएको उल्लेख गरे। नेपालको विविधताभित्र रहेको एकता नै देशको मौलिक शक्ति र पहिचान भएको बताउँदै उनले यही विविधतालाई सम्मान र संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुको साथमा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थित थिए । सहभागीहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई प्रवासमा पनि संरक्षण र पुस्तान्तरण गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।









