२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

गगनको नेतृत्वमा १९ सदस्यीय पदाधिकारी टिम चयन, विशेष महाधिवेशन पक्षधरको वर्चस्व



काठमाडौँ। नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय नयाँ पदाधिकारी टिम छानिएको छ। विशेष महाधिवेशनबाट सभापति चयन भएका थापा नियमित महाधिवेशनमा श्यामकृष्ण खड्कीलाई भारी मतान्तरले पराजित गर्दै पुनः सभापतिमा दोहोरिएका हुन्। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्कीले मात्र ३७५ मत ल्याएका थिए। नवनिर्वाचित १९ पदाधिकारीमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् भने सभापति थापासहित १७ पदाधिकारी प्रतिस्पर्धाबाट चयन भएका हुन्।

प्रतिस्पर्धामार्फत खुला उपसभापतिको दुई पदमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका छन्। उनीहरूसँगको प्रतिस्पर्धामा गोविन्द भट्टराई, सुर सुरेंद्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्रमोहन यादव पराजित भए। त्यसैगरी, समावेशी उपसभापतिको पदमा उद्योगपति विनोद चौधरीले जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णलाई हराउँदै कांग्रेसको नेतृत्व तहमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

महामन्त्रीका दुई खुला पदका लागि भएको प्रतिस्पर्धामा प्रदीप पौडेल र उदय शमशेर राणा विजयी भएका छन्। उनीहरूका प्रतिस्पर्धी डा. सुनिल शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, अमरसिंह पुन मगर, शंकर तिवारी र डा. सन्तोष उपाध्याय पराजित भए। यस्तै, महिला महामन्त्री पदमा महालक्ष्मी उपाध्याय (डिना) र रिता खनाललाई पछि पार्दै डा. डिला सङ्ग्रौला निर्वाचित भइन्।

विभिन्न १० क्लस्टरका ११ सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी (खुला), मनोजमणि आचार्य (खस-आर्य), योगेन्द्र चौधरी (थारु), अजयकुमार चौरसिया (मधेसी), प्रतिमा गौतम (महिला), बहादुर सिंह लामा तामाङ (आदिवासी जनजाति), प्रकाश रसाइली स्नेही (दलित), जीवनबहादुर शाही (पिछडिएको क्षेत्र), डा. फिर्दोश आलम (मुस्लिम) र आंगेलु शेर्पा (अल्पसंख्यक तथा अपांगता) निर्वाचित भएका छन्।

महाधिवेशनको नतिजाले कांग्रेस नेतृत्वमा विशेष महाधिवेशन पक्षधरको स्पष्ट वर्चस्व देखाएको छ। १९ सदस्यीय पदाधिकारीमा १६ जना विशेष महाधिवेशन पक्षधर निर्वाचित भएका छन् भने विशेष महाधिवेशनमा सहभागी नभएका तीन जना (रामहरि खतिवडा, जीवनबहादुर शाही र अजयकुमार चौरसिया) मात्रै जितेका छन्। विशेष गरी सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीजस्ता ९ प्रमुख पदमा विशेष महाधिवेशन पक्षधरको एकलौटी कायमै रह्यो।

कुल २९८ सदस्यीय केन्द्रीय कार्यसमितिमा २०९ जना केन्द्रीय सदस्यहरू समेत निर्वाचित भइसकेका छन्, जसमा ९० प्रतिशत विशेष महाधिवेशन पक्षधर रहेका छन्। २५ सदस्यीय पदाधिकारी टोलीलाई पूर्णता दिन अब सभापति गगन थापाले ४ सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनित गर्न बाँकी छ भने विधान अनुसार ७० जना केन्द्रीय सदस्यहरू पनि सभापतिबाटै मनोनित हुनेछन्।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ९ : ५७ बजे