अमेरिकाको फ्लोरिडाका तीन दाजुभाइलाई दर्जनौं महिलालाई लागुऔषध खुवाएर बलात्कार तथा यौन हिंसा गरेको अभियोगमा न्युयोर्कको अदालतले जनही ३० वर्षको जेल सजाय सुनाएको छ। जेल सजाय पाउनेहरूमा ३९ वर्षका जुम्ल्याहा ओरेन अलेक्जान्डर र एलन अलेक्जान्डर तथा उनीहरूका ४० वर्षका दाजु ताल अलेक्जान्डर रहेका छन्।
गत मार्चमा पाँच सातासम्म चलेको सुनुवाइपछि उनीहरूलाई बलात्कार लगायतका विभिन्न अभियोगमा दोषी ठहर गरिएको थियो। अभियोजन पक्षका अनुसार उनीहरूले मायामी, न्युयोर्कका साथै ह्याम्पटन, कोलोराडोको एस्पेन र क्यारेबियन क्षेत्रमा गरिएको समुद्री यात्राका क्रममा वर्षौंसम्म महिलाहरूमाथि योजनाबद्ध रूपमा यौन हिंसा गरेका थिए। कम्तीमा ७० जना महिला उनीहरूबाट बलात्कृत वा यौन दुर्व्यवहारको सिकार भएको जनाइएको छ।
म्यानह्याटनस्थित अदालतमा मङ्गलबार सजाय सुनाउने क्रममा १२ जना पीडित महिलाहरूले आफ्नो भयावह अनुभव र मानसिक पीडा व्यक्त गरेका थिए। उनीहरूले पार्टी तथा विलासी यात्राका क्रममा पेय पदार्थमा लागुऔषध मिसाएर आफूहरूलाई प्रतिरोध गर्न नसक्ने बनाई बलात्कार गरिएको बयान दिएका थिए।
सुनुवाइका क्रममा बचाउ पक्षका वकिलहरूले सबै यौन सम्बन्ध आपसी सहमतिमा भएको दाबी गरे पनि अभियोजनकर्ताहरूले भने उनीहरूले महिलाहरूलाई पूर्ण नियन्त्रणमा लिन षड्यन्त्रपूर्वक लागुऔषध प्रयोग गरेको पुष्टि गरेका थिए।
सजाय पाएका तीनै दाजुभाइ विलासी घरजग्गा (रियल इस्टेट) व्यवसाय र निजी सुरक्षा क्षेत्रमा संलग्न थिए। उनीहरूले आफ्नो पारिवारिक सम्पत्ति, व्यावसायिक पहुँच र विलासी जीवनशैलीको दुरुपयोग गर्दै महिलाहरूलाई प्रलोभनमा पारेर शोषण गर्ने गरेको अदालतको ठहर छ। मुद्दाका क्रममा अदालतकी न्यायाधीश भ्यालेरी काप्रोनीले तीनै भाइ एकअर्काका लागि खराब प्रभाव बन्न सक्ने भन्दै उनीहरूलाई एउटै कारागारमा राख्न नहुने धारणा व्यक्त गरेकी छन् ।









