११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाबिरुद्ध भ्रष्टाचार मुद्दा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहा जिल्लाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली र उपप्रमुख रेशम कुमारी थापासमेत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा उनीहरूविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारसम्बन्धी ठेक्का विवादित व्यक्तिलाई दिएर रकम हिनामिना गरेको तथा सम्झौता नगरी आधा राजश्व असुल गरी बाँकी रकम अपचलन गरेको ठहर गरिएको छ। तत्कालीन नगरप्रमुख तेली र उपप्रमुख थापासमेतका प्रतिवादीहरूको आपसी मिलेमतोमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी गैरकानुनी लाभ लिने बदनियतले उक्त ठेक्का अमानतमा लगाइएको पाइएको छ।

गोलबजार नगरपालिकाको वडा नम्बर ८ निवासी ठेकेदार वीरेन्द्र कुमार यादवलाई राजश्व सङ्कलन गर्ने प्रयोजनका लागि सो ठेक्का बिना प्रतिस्पर्धा सोझै अमानતમાં प्रदान गरिएको थियो। नगरपालिकाको २०७८ साउन ४ गतेको कार्यपालिका बैठकको निर्णयानुसार आर्थिक ऐन, प्रचलित कानुन तथा नगरसभाको स्वीकृतिबिना नै कानुनविपरीत २७ लाख ३४ हजार ९१३ रूपैयाँ राजश्व छुट दिने निर्णय गरिएको अख्तियारको भनाइ छ।

अमानती ठेकेदार यादवबाट असुली गरी सञ्चित कोषमा दाखिला गर्नुपर्ने रकम असुल नगरेरै नगरपालिकालाई एक करोड ३३ लाख ११ हजार ४३१ रूपैयाँ १० पैसा हानिनोक्सानी पुर्‍याइएको छ। आर्थिक वर्ष २०७७/७८ मा गैरकानूनी रूपमा छुट दिइएको २७ लाख ३४ हजार ९१३ रूपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा असुल नै नगरिएको एक करोड ३३ लाख ११ हजार ४३१ रूपैयाँ १० पैसा गरी कुल एक करोड ६० लाख ४६ हजार ३४४ रूपैयाँ १० पैसा सार्वजनिक सम्पत्ति हानिनोक्सानी भएको ठहर गर्दै अख्तियारले आज संलग्न प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : ११ कार्तिक २०८३, मंगलबार  ११ : १४ बजे