काठमाडौं— काठमाडौं उपत्यकाका मुख्य ब्लड बैंकहरूमा रगतको मौज्दात सकिएपछि गम्भीर बिरामीका आफन्त रगतको जोहो गर्न भौंतारिन बाध्य भएका छन्। लामो दसैं बिदाका कारण नियमित रक्तदान कार्यक्रम हुन नसक्दा र उपत्यकाका कलेजहरू बन्द भई युवा विद्यार्थीहरू गाउँ फर्किएपछि रगतको चरम अभाव सिर्जना भएको हो।
कालीकोटका परेक विक जलेर सिकिस्त भएकी आफ्नी एक वर्षीया छोरीको शल्यक्रियाका लागि दुई पिन्ट रगतको आशामा बुधबार दिनभर प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा कुरिरहे। सहरमा चिनजान नभएको र रक्तदाता नभेटिँदा बिहीबार हुने भनिएको छोरीको अपरेसन रोकिने चिन्ताले उनलाई सताएको छ। यस्तै, रूपन्देहीकी राधा शर्माले पनि वीर अस्पतालमा डायलसिस गराइरहेका श्रीमान्का लागि चाहिने दुई पिन्ट रगत कतै नपाएको गुनासो गरिन्। विक र शर्मा जस्तै उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका सयौं बिरामीका आफन्त अहिले रगतका लागि संघर्ष गरिरहेका छन्।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा. प्रकाशकुमार यादवका अनुसार अहिले उपत्यकाका प्रायः सबै ब्लड बैंकमा फ्रेस ब्लड, होल ब्लड र प्याक्ड सेललगायत सबै प्रकारका रगतको मौज्दात शून्यमा झरेको छ। दैनिक रूपमा सयौं बिरामीका आफन्त रगत खोज्दै आए पनि मागअनुसार उपलब्ध गराउन नसकिएको र रक्तदान आयोजना गरिए पनि दाताहरूको उपस्थिति अत्यन्तै न्यून रहेको अधिकारीहरू बताउँछन्। गत भदौमा रक्तदान गरेकाहरूलाई पुनः रक्तदान गर्न तीन महिना नपुगेकाले पनि अहिले यो संकट थप गहिरिएको छ।
रगतको अभाव चुलिएपछि नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई तत्काल रक्तदान गर्न विशेष अपिल गरेको छ। साथै, बैंक, सरकारी कार्यालय र अन्य संघसंस्थालाई आफ्ना कर्मचारीहरूलाई रक्तदानका लागि प्रोत्साहित गर्न आग्रह गरिएको छ। भक्तपुर ब्लड बैंकका नवराज खत्रीका अनुसार जिल्लाका साथै काठमाडौं र ललितपुरबाट २४ सै घण्टा रगतको माग आए पनि दिनसक्ने अवस्था छैन।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले काभ्रे, दोलखा, धादिङ, हेटौंडा र जनकपुरजस्ता नजिकका जिल्लाका ब्लड बैंकहरूसँग पनि समन्वय गरिरहेको छ। यस्तै, संकट समाधानका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलजस्ता सुरक्षा निकायलाई रक्तदान कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको छ।
चिकित्सक तथा स्वास्थ्य अधिकारीहरूका अनुसार रगतको अभाव लम्बिँदै गएमा नियमित शल्यक्रिया, मिर्गौलाका बिरामीको डायलसिस, प्रसूति सेवा, थालसेमिया र क्यान्सरका बिरामीको उपचार प्रत्यक्ष प्रभावित हुनेछ। विशेषगरी उपत्यकाबाहिरबाट उपचारका लागि आएका बिरामीहरू यस संकटबाट सबैभन्दा बढी मार्कामा परेका छन्।









