१३ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026

बिचौलिया इनम सापकोटासँगको कनेक्सनबारे आएका समाचारप्रति प्रधानन्यायाधीश र दुई न्यायाधीशको आपत्ति, आरोपको खण्डन



हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग नाम जोडिएर आएका समाचारहरूप्रति सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय हरि फुयाल र श्रीकान्त पौडेलले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति र अभिव्यक्तिमार्फत सापकोटासँग कुनै पनि गलत सम्बन्ध वा कनेक्सन नरहेको भन्दै आरोपहरूको पूर्ण खण्डन गरेका हुन्।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विज्ञप्ति जारी गर्दै आफूसँग जोडिएर आएका खबरप्रति आश्चर्यचकित र स्तब्ध भएको बताएका छन्। “जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष वा परोक्ष रूपमा कुनै चिनजान, सम्पर्क र भेटघाट छैन,” विज्ञप्तिमा भनिएको छ, “प्रसङ्गमा उल्लेखित मितिमा म प्रधानन्यायाधीश भइनसकेको अवस्था छ। आधारहीन, झुटा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यले प्रसारित समाचारको म भर्त्सना गर्दछु।”

अर्का न्यायाधीश हरिप्रसाद फुयालले भने आफ्नै सूचना र उजुरीका आधारमा बिचौलिया सापकोटा पक्राउ परेको खुलासा गरेका छन्। बिहीबार सर्वोच्च अदालतमा पत्रकारहरूसँग कुरा गर्दै उनले पारिवारिक माध्यमबाट भेट भएका सापकोटाले सुरुमा आफूलाई अमेरिकी दूतावास र प्रधानमन्त्री वालेन्द्र शाहको मान्छे भनी चिनाएको बताए। सापकोटाले प्रधानसेनापति र प्रधानन्यायाधीश शर्माको समेत खास मान्छे भएको दाबी गर्ने गरेको फुयालको भनाइ छ। सुरुमा न्यायिक शुद्धीकरणका कुरा गरे पनि पछि मुद्दाहरूमा दबाब दिन थालेपछि आफूलाई शंका लागेर प्रधानमन्त्रीको सचिवालयलाई सूचना र प्रमाण दिएको र सोही आधारमा प्रहरीले सापकोटालाई नियन्त्रणमा लिएको उनले दाबी गरे।

न्यायाधीश फुयालका अनुसार सापकोटाले दीपक भट्टलाई छाड्न प्रधानमन्त्रीको निर्देशन छ भन्दै दबाब दिएका थिए। एउटा मुद्दाका प्रतिवादीलाई २ करोड धरौटीमा रिहा गर्ने आदेशपछि हिमालयन होटलमा भेटघाट भएको कुरा भने उनले स्वीकार गरेका छन्। आफू नै यस प्रकरणको पीडित (भिक्टिम) भएको उल्लेख गर्दै उनले आफ्नो नियतमाथि प्रश्न उठाउन नमिल्ने बताए।

त्यसैगरी, अर्का न्यायाधीश श्रीकान्त पौडेलले विज्ञप्ति जारी गर्दै सापकोटासँग कुनै पनि व्यक्तिगत भेटघाट र फोन सम्पर्क नभएको स्पष्ट पारेका छन्। २०८३ भदौ १७ गते आफूसहितको इजलासले गरेको आदेश न्याय सम्पादनको नियमित प्रक्रिया मात्र भएको र सुनुवाइका क्रममा उपस्थित कानुन व्यवसायीबाहेक अन्य व्यक्तिहरूसँग आफ्नो कुनै सम्पर्क नरहेको उनको दाबी छ। आफू निष्ठापूर्वक न्याय सम्पादनमा प्रतिबद्ध रहेको भन्दै उनले बाहिर आएका आरोपहरूको खण्डन गरेका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८३, बिहिबार  ११ : १५ बजे