१३ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026

बंगालको खाडीको ‘अर्णव’ चक्रवातका कारण नेपालमा वर्षा र हिमपातको जोखिम



बंगालको खाडीबाट विकसित भएको ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा बिहीबारदेखि सुरु भएको छ। बुधबार बिहान भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा जमिनमा प्रवेश गर्दा अत्यन्त शक्तिशाली अवस्थामा रहेको यो प्रणाली क्रमशः कमजोर बन्दै न्यूनचापीय प्रणालीमा परिणत भएको थियो। तर, माथिल्लो वायुमण्डलको अर्को मौसमी प्रणालीसँग यसको अवशेषले अन्तरक्रिया गर्दा नेपालमा वर्षा र हिमपात बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले आकलन गरेको छ। यसको प्रभावले शुक्रबार र शनिबार नेपालभर वर्षा हुनुका साथै देशभर एक्कासि चिसो बढ्ने मौसमविद्हरूको अनुमान छ।

मौसम विज्ञान विभागकी प्रवक्ता वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार बिहीबार रातिदेखि नै सुरु हुने हल्कादेखि मध्यम वर्षाले ठूलो असर नपारे पनि शनिबारसम्म देशभर वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागको बुलेटिनअनुसार शुक्रबार सातै प्रदेशका हिमाली भूभाग तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ। तराईका केही स्थानमा हावाहुरी चल्नेछ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा भारी वर्षा वा हिमपातको जोखिम छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मदन सिग्देलले चक्रवात कमजोर भए पनि मध्यम वर्षाले काट्न तयार धानबालीमा क्षति पुर्‍याउन सक्ने र यात्रुलाई असर पार्न सक्ने चेतावनी दिएका छन्।

नेपालमा तीव्र हावाहुरीको जोखिम घटेको भए पनि भारी वर्षा, हिमपात, हिमपहिरो र पहिरोको जोखिम कायमै छ। नारायणी, बागमती र कोशी नदी जलाधार क्षेत्रमा बाढी तथा पहिरोको जोखिम औंल्याइएको छ। विशेषगरी नारायणगढ–मुग्लिन, कोशी, सिद्धार्थ, कान्ति र अरनिको राजमार्गका संवेदनशील खण्डहरूमा सडक भासिने, ढुंगा झर्ने र पहिरो खस्ने सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन भनिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले सुरक्षा निकाय र मातहतका निकायलाई उच्च सतर्कतामा राखेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले हिमाली तथा उच्च पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहण नगर्न आग्रह गरेका छन्। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका लागि उडान र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले मौसम खराब भएमा सवारी आवागमन बन्द गर्न र यात्रामा उच्च सतर्कता अपनाउन व्यवसायीहरूलाई अपिल गरेका छन्।

यसैबीच, चक्रवात अर्णवले भारतको आन्ध्र प्रदेशमा ठूलो क्षति पुर्‍याएको छ। भारतीय सञ्चारमाध्यम र स्थानीय अधिकारीहरूका अनुसार करेन्ट लागेर, रुख तथा बिजुलीका पोल ढलेर र घर भत्किँदा कम्तीमा ७ देखि ९ जनाको मृत्यु भएको छ। भारतमा करिब २ लाख २४ हजार हेक्टरको कृषि तथा बागवानी बाली प्रभावित हुँदा साढे ३ लाख भन्दा बढी किसान मारमा परेका छन्। साथै १५ हजारभन्दा बढी विद्युत् पोल ढलेका छन् भने रेल, हवाई तथा सञ्चार सेवा समेत प्रभावित भएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८३, बिहिबार  ११ : १७ बजे