१४ कार्तिक २०८३, शुक्रबार | Sat Oct 31 2026

अमेरिकामा मध्यावधी चुनावको प्ररम्भिक मतदान सुरु



अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि चुनाव हुने तालिका भए तापनि त्यहाँ प्रारम्भिक मतदान सुरु भइसकेको छ। निर्वाचनको निर्धारित मितिभन्दा अघि नै मतदान केन्द्रमा गएर वा हुलाकमार्फत मतपत्र पठाएर मत हाल्न पाइने यस सुविधाअन्तर्गत अहिलेसम्म लगभग ४ करोड अमेरिकीले मतदान गरिसकेका छन्। सकेसम्म धेरै मानिसलाई मतदानको अवसर दिने उद्देश्यले सञ्चालित यो प्रारम्भिक मतदानमा रोयटर्स र इप्सोसको सर्वेक्षणअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पछाडि परेको छ। सर्वेक्षणमा विपक्षी डेमोक्र्याटले ४७ प्रतिशत र रिपब्लिकन पार्टीले ३६ प्रतिशत मतदाताको समर्थन पाइरहेका छन्।

यसैबिच ट्रम्प प्रशासनले ३० अमेरिकी राज्यबाट मतदाताहरूको ठेगाना, जन्म मिति र सामाजिक सुरक्षा नम्बरजस्ता व्यक्तिगत विवरण माग गर्दै सर्वोच्च अदालतमा अपिल समेत गरेको छ। गैरअमेरिकी नागरिकले मतदान गरिरहेका छन् कि छैनन् भनी पत्ता लगाउन यो जानकारी मागिएको दाबी गरिए पनि जालसाजीपूर्ण मतदानको कुनै ठोस प्रमाण बाहिर आएको छैन। त्यसैले विज्ञहरूले विपक्षी मतदाता पहिचान गर्न र उनीहरूलाई दबाब दिन ट्रम्पले यो डेटा प्रयोग गर्न खोजेको अनुमान गरेका छन्।

यतिबेला ट्रम्प प्रशासनले सामना गरिरहेको सबैभन्दा ठुलो चुनौती अर्थतन्त्रप्रति जनताको असन्तुष्टि हो। रोयटर्स-इप्सोस सर्वेक्षण अनुसार ६५ प्रतिशत मतदाता महँगीसम्बन्धी ट्रम्पको आर्थिक निर्णयबाट असन्तुष्ट छन् भने ४५ प्रतिशतले रोजगारीका अवसर घट्दै गएको बताएका छन्। साथै ४८ प्रतिशत मतदाता कडा आप्रवासन नीतिले अमेरिकालाई हानि पुर्‍याइरहेको ठान्छन्।

यदि रिपब्लिकन पार्टीले यो मध्यावधि चुनाव हारे पनि ट्रम्पको कार्यकाल २०२८ सम्म चल्ने भएकाले उनी राष्ट्रपति नै रहनेछन्। यद्यपि कंग्रेस (संसद्‌) मा बहुमत नहुँदा शुल्क, भिसा र आप्रवासनजस्ता मुद्दामा आफ्ना नीति लागु गर्न उनले कडा विरोधको सामना गर्नुपर्ने हुन्छ। अमेरिकी राजनीतिमा ‘लेम डक’ भनिने यस्तो अवस्थामा उनी बाँकी दुई वर्ष कमजोर राष्ट्रपति बन्न सक्छन्। डेमोक्र्याटहरूले कंग्रेसमा आवश्यक सिट जितेमा ट्रम्पविरुद्ध पहिले नै चर्चामा रहेको महाभियोगको प्रक्रिया अघि बढाएर उनीमाथि दबाब अझ बढाउन सक्छन्।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार  ११ : १४ बजे