काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नरहेको टिप्पणी गरेका छन्। शनिबार सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान र लोकतन्त्रमाथि आँच पुर्याउने कार्यमा संलग्न जोकोही पनि सजायको भागीदार हुनुपर्ने स्पष्ट पारे।
सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ तथा धरपकड गरिएको विषयमा सोधिएको प्रश्नको उत्तर दिँदै सभापति लामिछानेले भने, “संविधानभन्दा माथि र डेमोक्रेसीभन्दा ठूलो केही छैन, कोही छैन। यसमा रास्वपा र रवि लामिछाने स्पष्ट छन्, कसैले दुविधा पाल्नु पर्दैन।” उनले संविधानप्रदत्त अधिकारलाई बेवास्ता गर्दै गैरजिम्मेवार गतिविधि गर्ने व्यक्ति आफू वा अरू जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने र त्यसको जिम्मेवारी लिनुपर्ने बताए।
यसैबिच, शनिबार बसेको रास्वपा सचिवालय बैठकले गत कात्तिक १३ गते सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका हस्तक्षेपकारी गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस्ता गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको तत्काल पहिचान गरी छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिने निर्णयसमेत गरेको छ।









