१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

गोबिन्द केसीको स्वास्थ्य अबस्था



इलाम। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ। रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएका डा. केसीको स्वास्थ्य स्थिति थप बिग्रिन सक्ने भन्दै इलाम अस्पतालले उच्च उपचारको व्यवस्था मिलाउन कोशी प्रदेश सरकारसँग आग्रह गरेको छ।

अस्पतालले आइतबार सार्वजनिक गरेको विवरण अनुसार डा. केसीलाई शनिबार राति करिब ८ बजे उपचारका लागि भर्ना गरिएको थियो। टाइप–२ मधुमेहका बिरामी रहेका उनको रगतमा ग्लुकोजको मात्रा खतरनाक स्तरसम्म घटेको पाइएको छ। साथै, अनशनका कारण पिसाबमा ‘एसिटोन’को मात्रा पनि बढेको अस्पतालले जनाएको छ।

अस्पतालमा गरिएको निरन्तर परीक्षणमा उनको रगतमा ग्लुकोजको मात्रा क्रमशः ६७, ६७, ४७ र घटेर ३६ मिलिग्राम प्रतिडेसिलिटरसम्म झरेको देखिएको छ। चिकित्सकीय दृष्टिले यो अवस्थालाई ‘हाइपोग्लाइसेमिया’ (रगतमा चिनीको मात्रा सामान्यभन्दा निकै कम हुनु) भनिन्छ। पछिल्ला परीक्षणहरूमा देखिएको ग्लुकोजको स्तरले उहाँ गम्भीर जोखिममा रहेको देखाउँछ।

हाल डा. केसीको रक्तचाप १००/६० एमएमएचजी, नाडीको गति प्रतिमिनेट ८० देखि १०८ सम्म र रगतमा अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशत रहेको इलाम अस्पतालले जनाएको छ। अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिमलाई ध्यानमा राख्दै अस्पतालले सुविधासम्पन्न अस्पतालमा थप उपचारको प्रबन्ध मिलाउन प्रदेश सरकारलाई पत्राचार गरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, आइतबार  ११ : १८ बजे