३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई सेवाबाट हटाइने चेतावनी



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न भए सेवाबाट हटाइने चेतावनी दिएको छ ।

मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै संविधान र प्रचलित कानुनअनुसार निजामती कर्मचारी राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।

सूचनामा नेपाल सरकार अन्तर्गत कार्यरत कर्मचारीले राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध हुन, सदस्यता लिन, राजनीतिक गतिविधिमा सहभागी हुन तथा निर्वाचनमा उम्मेदवार बन्न नपाइने स्पष्ट गरिएको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार राजनीतिमा भाग लिने निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ ।

मन्त्रालयले यस्तो गतिविधिमा संलग्न पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै सबै कर्मचारीलाई आचरण र अनुशासनसम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ८ : १७ बजे