१ असार २०८३, सोमबार | Tue Jun 16 2026

क्यानडामा नेपाली विद्यार्थीद्वयको सवारी दुर्घटनामा मृत्यु



उच्च शिक्षा हासिल गरी सुनौलो भविष्य निर्माण गर्ने सपनासहित क्यानडा पुगेका दुई नेपाली विद्यार्थीको सवारी दुर्घटनामा ज्यान गएको छ । क्यानडाको ओन्टारियो प्रान्तमा भएको गाडी दुर्घटनामा भोजपुरकी २२ वर्षीया लाक्पा याञ्जी शेर्पा र कास्कीका राजीव श्रेष्ठको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अनुसार दुर्घटना जुन ११ मा ओन्टारियोमा भएको थियो। दुर्घटनामा परेका दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

लाक्पा टोरन्टोस्थित फ्लेमिङ कलेजमा नर्सिङ अध्ययनरत थिइन् । उनले हालै आफ्नो अध्ययन पूरा गरेकी थिइन्। राजीव श्रेष्ठले टोरन्टोको महक कलेजमा सूचना प्रविधि (आईटी) विषय अध्ययन गरिरहेका थिए ।

प्राप्त जानकारीअनुसार जुन ९ र १० मा फ्लेमिङ कलेजमा आयोजित दीक्षान्त समारोहमा सहभागी भएपछि उनीहरू घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनीहरू सवार एसयूभी गाडीमा आगलागी भएको बताइएको छ ।

ओन्टारियो प्रदेश प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले दुर्घटनापछि गाडीमा आगो लागेको र दुवैको घटनास्थलमै मृत्यु भएको उल्लेख गरेका छन् ।

एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटाका अनुसार दुवै विद्यार्थीको शव हाल टोरन्टोस्थित एक अस्पतालमा राखिएको छ । परिवारको आग्रहअनुसार लाक्पा याञ्जी शेर्पाको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ । राजीव श्रेष्ठको अन्त्येष्टि कहाँ गर्ने भन्ने विषयमा भने अझै निर्णय भइसकेको छैन ।

यस घटनाले क्यानडास्थित नेपाली समुदायलाई स्तब्ध बनाएको छ भने मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ६ : ५७ बजे