नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लिएर असन्तुष्टि बढ्दै गएको छ । पार्टीका प्रभावशाली नेताहरूले केन्द्रीय समितिबाटै ओलीलाई नेतृत्वबाट हटाउने उद्देश्यसहित पार्टी पुनर्गठनको खाका तयार पारेको स्रोतहरूले बताएका छन् ।
यद्यपि, सचिवालयमा आफू अल्पमतमा परेको चर्चा चलिरहे पनि ओलीले केन्द्रीय समितिमा आफ्नो बलियो पकड रहेको विश्वास गरेका छन् । ११औँ महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले पुनर्गठनको प्रस्तावलाई असफल पार्ने रणनीति बनाएका छन् ।
तर, पार्टीभित्रको अर्को समूहले वडादेखि केन्द्रसम्मका सबै कमिटी विघटन गरी आयोजक समिति गठन गर्ने र त्यसमार्फत विशेष वा अर्ली महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव अघि सारेको छ । उक्त आयोजक समितिको नेतृत्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिने विषयमा समेत आन्तरिक छलफल भइरहेको बताइएको छ ।
उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा उपमहासचिव योगेश भट्टराईसहितका नेताहरू पार्टी पुनर्गठनको अवधारणामा सक्रिय रहेको स्रोतको दाबी छ । विशेषगरी देशव्यापी संगठनात्मक सञ्जाल भएका पौडेल र पोखरेलको सक्रियताले पुनर्गठन पक्षधरहरूको प्रभाव बढ्न सक्ने आँकलन गरिएको छ ।
पार्टीको चुनावी समीक्षा तथा पुनर्गठनका लागि गठित १५ सदस्यीय कार्यदल हाल विभिन्न प्रदेशबाट सुझाव संकलन गरिरहेको छ । बागमती प्रदेश भेलाबाट अध्यक्ष ओलीको नेतृत्वमा पार्टीलाई अगाडि बढाउन नसकिने निष्कर्षसहित सुझाव आएको बताइएको छ ।
पुनर्गठन पक्षधर नेताहरूका अनुसार केन्द्रीय समिति बैठकमा पार्टी संरचनाको व्यापक पुनर्संरचनासम्बन्धी प्रस्ताव पेस गरिनेछ । प्रस्तावमा टोल, वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्मका संरचनालाई आयोजक समितिमा रूपान्तरण गरी पुनः अधिवेशन र महाधिवेशन गराउने अवधारणा समावेश हुने बताइएको छ ।
पार्टीभित्र सर्वस्वीकार्य व्यक्तित्वको आवश्यकता औँल्याउँदै केही नेताहरूले पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा संक्रमणकालीन संरचना अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनीहरूको विश्वास छ कि भण्डारीको नेतृत्वले पार्टीभित्रको ध्रुवीकरण कम गर्न र अन्य दलका कार्यकर्तालाई समेत आकर्षित गर्न सक्नेछ ।
असार मसान्तसम्म प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको कार्यदलले पनि पार्टी पुनर्गठनको पक्षमा सुझाव दिने अपेक्षा पुनर्गठन पक्षधर नेताहरूको छ ।
यता अध्यक्ष ओली भने पद नछोड्ने अडानमा देखिएका छन् । निर्वाचित प्रक्रियाबाट नेतृत्वमा आएको भन्दै उनले संकटका बेला माग उठ्दैमा जिम्मेवारी त्याग्न नसकिने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् ।









