२४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026

जेनजी शहीद दिवसमा विवादित पात्रहरूको सहभागिताले ल्याएको तरंग



जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि जेनजी शहीद दिवस स्मृति सभा आयोजना गरियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, सांसद तथा मन्त्रीहरूसहित आयोजना गरिएको उक्त कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी कानुनमन्त्री सोबिता गौतम, मन्त्री महावीर पुन, मन्त्री सुनिल लम्साल, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल, शहीद परिवारका आफन्त, घाइते तथा जेनजी अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो।

गम्भीर माहौलका बीच आयोजित यस स्मृति सभामा दुई विवादित पात्रहरू बालयोगेश्वर विजय कृष्णमूर्ति (विजय भण्डारी) र श्रीनिवास आचार्यको उपस्थितिले तरंग पैदा गरेको छ । उनीहरू केवल सहभागी मात्र नभई गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँगै मञ्चको अग्रभागमा अतिथिका रूपमा आसीन थिए जबकि अन्य मन्त्री, सांसद तथा पूर्वगृहमन्त्री अर्याल उनीहरूको पछिल्तिर बसेका थिए । पानसमा बत्ती बाल्ने क्रममा भण्डारीले गृहमन्त्रीलाई सहयोगसमेत गरेका थिए ।

धार्मिक आवरणमा सर्वसाधारणलाई ठगी गरेको आरोप लागेका विजय भण्डारीमाथि अमेरिका पठाइदिने बहानामा रकम उठाएको, कोटिहोम र महायज्ञको रकम हिनामिना गरेको तथा वैदेशिक रोजगारीको कसुरमा अदालतबाट कैद र जरिवानाको सजाय पाएको विगत छ । उनी पटक-पटक पक्राउ पर्दै २०८१ कात्तिकमा मात्रै सर्वोच्च अदालतबाट मिलापत्रमार्फत थुनामुक्त भएका थिए । अर्का पात्र श्रीनिवास आचार्य २०७५ सालमा हिन्दु राष्ट्रको आन्दोलन उछाल्न आफैँलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि पनि धार्मिक साम्प्रदायिकता र उग्र अभिव्यक्ति दिएको अभियोगमा उहाँ पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

गम्भीर पृष्ठभूमि भएका व्यक्तिहरूलाई शहीद दिवसजस्तो संवेदनशील कार्यक्रमको मञ्चमा विशेष मानसम्मानसहित राखिएकामा उपस्थित सर्वसाधारण र सहभागीहरूले आश्चर्य प्रकट गरेका छन् । सोही कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले भने विभिन्न राजनीतिक दलका नेता तथा पत्रकारहरूलाई कडा चेतावनी दिँदै ‘अझै पनि समय छ, सुध्रिनुस्’ भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १० : १७ बजे