नेपाल खेलकुद परिषद्का उपाध्यक्ष तथा ओलम्पिक कमिटिका महासचिव तेण्डी शेर्पाले विश्वको जुनै मुलुकमा भएपनि नेपालको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडीलाई सरकारले ओलम्पिकमा जाने अवसर दिन थालेको बताए । हालै ब्राजिलको रियो ओलम्पिकमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै आउने सिलसिलामा न्युयोर्क आइपुगेका शेर्पाले भने, ‘ विदेशमा जहाँ भएपनि नेपालको प्रतिनिधित्व हुने राम्रो सम्भावना बोकेका खेलाडीबारे एनआरएको खेलकुद विभागमार्फत हामीलाई थाहा दिएमा उनीहरुलाई सम्बन्धित मुलुकमा प्रशिक्षण दिई ओलम्पिकमा जाने अवसर प्रदान गर्ने छौ,’ उनले भने ।
विश्वलाई चिनाउने खेल क्षेत्रमा नेपाल सरकारले खेल र खेलाडीबारे सोचेजस्तो बजेट छुट्टयाउटन नसक्नु र भौतिक पूर्वाधारहरुको अभावको कारण नेपाली खेलाडीले प्रगति गर्न नसकेको बताए । ‘यो ओलम्पिकमा राष्ट्रपति विद्या भण्डारीलाई जान आग्रह गरेको थियौं, तर उहाँले हाम्रो खेलाडीले जित्दैन लाज हुन्छ भनेर जान चाहनु भएन,’ शेर्पा किदुगद्वारा आइतबार आयोजित स्वागत कार्यक्रममा उनले भने, ‘हामी भन्दा पनि खेल क्षेत्रमा अघि रहेको भारतले त अहिलेसम्म ओलम्पिकमा जित्न नसकेको अवस्था छ हामीले लजाउनु पर्दैन भनेर मैले राष्ट्रपतिलाई जानकारी दिए ।’
उनले विदेशमा बसेर पनि नेपालको प्रतिनिधित्व गरि फ्रान्सबाट दाछिरि शेर्पाले र हालै गौरिकाले ओलम्पिकमा भाग लिएर नेपालको गौरव बढाएको बताए । उनीहरु जस्तै खेलाडी विदेशमा रहेका संघसंस्थाहरुले चासो दिई चिन्न कोसिस गरेर ओलम्पिकमा पठाउन सहयोग गर्नु पर्ने उनले बताए । किदुगका महासचिव आङजाङबु शेर्पाद्वारा सञ्चालित कार्यक्रममा किदुग खेलकुद विभागका संयोजक रिन्जी शेर्पाले खेल क्षेत्रको विकासमा योगदान दिदै आएका परिषद्का उपाध्यक्ष तथा ओलम्पिक कमिटिका महासचिव तेण्डी शेर्पालाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे ।
किदुगले लामो समयदेखि सञ्चालन गर्दै आएको बालबालिकाको लागि फुटबल खेलको लागि उपाध्यक्ष तेण्डीले किदुगलाई व्यक्तिगत रुपमा ३ लाख नेपाली रुपैयाँ बराबारको जर्सी सहयोग गरेकोमा किदुगले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा किदुगका अध्यक्ष दावाजाङ्बु शेर्पाले विद्यार्थी जीवनदेखि नेतृत्व गदै खेलकुदको विकासमा निरन्तर लागेर परिषद् र ओलम्पिक कमिटिमा पुग्ने तेण्डी शेर्पाले गरेको कार्यको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा शेर्पा कल्चर सेन्टरका अध्यक्ष कल्साङ छोपेल र किदुगका पूर्व अध्यक्ष छोङबा शेर्पाको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित तेण्डी शेर्पालाई किदुगका उपाध्याक्ष ङमिा देण्डी शेर्पाले खादा लगाई स्वागत गरेका थिए ।








