झापा । समाज सेवामा विगत १५ वर्षदेखि क्रियाशील संस्था हेल्प नेपाल नेटवर्कले हालै पूर्वका दुइ जिल्लामा आफ्नो नियमित कार्यक्रम संचालन गरेको छ । हेल्प नेपालले झापाका ३ गाउँ विकास समितिका विभिन्न व्यक्तिहरुलाई कम्मल वितरण गरेको थियो भने सप्तरीको सखडा गाउँ विकास समितिमा आँखा शिविर गरेको थियो । सप्तरीको राजविराजमा सम्पन्न कार्यक्रममा भने एक हजार थान कम्बल वितरण गरिएको थियो ।
हेल्प नेपालले माघ ९ गते झापा जिल्लाको केचना र बेलुवाडीमा ७३० थान र घेराबारी गाविसमा १३० थान कम्बल वितरण गरेको थियो ।
जसमध्ये १२० थान कम्बल स्थानीय एकल महिला तथा वृद्ध महिलालाई वितरण गरिएको थियो भने घेराबारीका १३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको हेल्प नेपाल नेटवर्कका उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक रवि मानन्धरले बताएका छन् । उनले सप्तरीको राजविराजमा पनि एक हजार थान कम्बल वितरण गरेको बताए । उनले राष्ट्रिय विपद्का बेला हेल्प नेपालले सहयोग गरिरहेको बताए ।
यसै क्रममा आफ्नो नियमित कार्यक्रम अन्तरगत सप्तरी जिल्लाको सखडा गाउँ विकास समितिमा तीन दिने आँखा शिविर संचालन गरेको थियो । यही माघ १० देखि १२ गतेसम्म सम्पन्न आँखा शिविरमा त्यस क्षेत्र वरपरका सयौं व्यक्तिहरुको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण पश्चात १०२ जनाको मोतीबिन्दुको शल्यक्रिया समेत गरिएको थियो । डा. राजकुमार यादवको समूहले आँखा शिविरमा स्कृनिङ्ग गरेका मोतिबिन्दुका बिरामीहरुको सगरमाथा चौधरी आँखा अस्पताल लहानमा अपरेशन गरेको हेल्प नेपालकी सचिव तथा स्वास्थ्य संयोजक लता घिमिरेले बताइन । उनले स्वास्थ्यका क्षेत्रमा अझै विभिन्न कार्यक्रम निरन्तर गरिने पनि जानकारी दिइन ।
विभिन्न विपदका समयमासमेत उद्धार तथा सहयोग गर्दै आएको हेल्प नेपाल नेटवर्कले आफ्नो नियमित कार्यक्रम अन्तरगत यो कार्यक्रमको आयोजना गरेको सचिव लता घिमिरेले बताइन । झापा र सप्तरीमा सम्पन्न उक्त दुबै कार्यक्रममा स्थानीय सहजकर्ताका रुपमा धमी हल्फा महिला समूह, सप्तरीका इ.सूर्यनारायण यादव तथा महिला तथा बालबालिका जागरण अभियान, झापाकी शर्मिला अधिकारी रहेको सचिव घिमिरेले बताएकी छिन । यस पटक हेल्प नेपालको सहयोग वितरण समूहमा रवि मानन्धर, लता घिमिरेका साथै अध्यक्ष अरुणसिंह बस्नेत, कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ र दिनेश श्रेष्ठ रहेका थिए ।
केही साता अघि मात्रै हेल्प नेपाल नेटवर्कले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक र दोलखाका दुई विद्यालयलाई सहयोग गरेको थियो ।