६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोराेना संक्रमण



नयाँ दिल्ली (एजेन्सी) । भारतको राजधानी नयाँ दिल्लीमा कोराेनाबाट कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएकाे बताइएको छ ।

दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले नयाँ दिल्लीमामात्र २०० जना स्वास्थ्यकर्मी कोविड १९ को संक्रमण भएकाे बताए ।

उन दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताए। उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए । उनले मंगलबार भने, ‘यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर २०० जना स्वास्थ्यकर्मी कोविड १९ को विरामी परेका छन् ।’

उनले दिएको जानकरीअनुसार कोविड १९को उपचारका लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए ।

उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए ।

उनले दिल्लीमामात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् । उनका अनुसार साेमबारमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उनका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ । स्वास्थ्यमन्त्री जैनले भने, ‘नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो ।’

भारतमा लकडाउन आगामी मे ३ सम्मका लागि जारी भएकाे छ । त्यसपछि के गर्ने भन्ने बारेमाा कुनै पनि राज्य तथा केन्द्र सरकारले पनि कुनै निर्णय गरिसकेका छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मात्र पनि भारतका मुख्यमन्त्रीहरुसँग यस विषयमा भिडियो कन्फ्रेन्स बैठक गरेका थिए ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सो बैठकमा सहभागी भएका थिए । मुख्यमन्त्री केजरीवाल भने दिल्लीमा यो संक्रमणको विस्तार दर निकै बढ्दै गएकोले लकडाउनको अवधि थप्नुपर्छ भन्नेमा रहेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  २ : २१ बजे