एभरेस्ट टाइम्स/काठमाडौं
अमेरिकी आर्थिक पत्रिकाले हालै सार्वजनिक गरेको सर्वाधिक कमाउने सूचीको अग्रस्थानमा अमेरिकी ¥यापर तथा व्यवसायी पफ डेडी पर्न सफल भएका छन् । खास नाम सिन कम्ब्स रहे पनि उनी पि डेडी नामबाट चर्चित छन् । सन् २०१६ को जुनदेखि सन् २०१७ को जुनसम्मको अवधिमा उनले १३ करोड डलर कमाएका उनको सम्पत्ति ८२ करोड डलर रहेको फोब्र्सले जनाएको छ ।
१० करोड ५० लाख डलर कमाउँदै दोस्रो स्थानमा अमेरिकी गायिका बियोन्से रहेकी छन् । गायन यात्राकै क्रममा उनले यति धेरै कमाई गरेकी हुन् । उनका श्रीमान पनि यो सूचीको ५५ औं नम्बरमा रहेका छन् ।
ह्यारी पोटर सिरिजकी लेखिका तथा बेलायती उपन्यासकार जे के रोलिङ ९ करोड ५० लाख डलर कमाउँदै सर्वाधिक कमाउने तेस्रो सेलिब्रिटी बनेकी छन् । ह्यारी पोटर सिरिज निकालेर साहित्यमा यति धेरै कमाउने उनी नै हुन् ।
अमेरिकी गायक ड्रेक, पोर्चुगाली फूटबल स्टार क्रिस्टियानो रोनाल्डो, क्यानडेली सङ्गीतकार द विकेन्ड, अमेरिकी रेडियो तथा टिभी पर्सनालिटी होवार्ड स्टर्न र बेलायती रक ब्याण्ड कोल्ड प्ले क्रमशः सूचीको चौथौंदेखि आठौं स्थानमा रहेका छन् ।
शाहरुख, सलमान र अक्षय कुमार पनि सूचीमा
भारतीय सुपरस्टारत्रय शाहरुख खान, सलमान खान र अक्षय कुमार अमेरिकी आर्थिक पत्रिका फोब्र्सको सर्वाधिक कमाउने सेलिब्रिटीको सूचीमा पर्न सफल भएका छन् ।
सूचीको ६५ औं स्थानमा भारतीय अभिनेता शाहरुख रहेका छन् । ३ करोड ८० लाख डलर कमाइसहित उनले यो स्थानमा अमेरिकी गायिका तथा नायिका जेनेफर लोपेजसँग बराबरी गरेका हुन् । ३ करोड ३० लाख डलर कमाइसहित गत वर्षको सूचीमा उनी ८६ औं स्थानमा थिए ।
सूचीको ७१ औं स्थानमा सलमान रहेका छन् । उनले समीक्षा अवधिमा ३ करोड ७० लाख आम्दानी गरेका छन् । उनीसँग यस स्थानमा बेलायती गायिका तथा गीतकार एड शीरन पनि छन् । उता, ३ करोड ५५ लाख डलर कमाइसहित अक्षय कुमार भने सर्वा्धिक कमाउने सेलिब्रिटीको सूचीमा ८० औं स्थानमा रहेका छन् । गत वर्षको सूचीमा ३ करोड १० लाख डलर कमाइसहित अक्षय कुमार ९४ औं स्थानमा रहेका थिए । समीक्षा अवधिमा सूचीकृत सर्वाधिक कमाउने १ सय सेलिब्रिटीहरूले कुल ५ अर्ब १५ करोड डलर आम्दानी गरेका छन् ।