११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

माओवादी मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : कांग्रेस


२० आश्विन २०७४, शुक्रबार  

0
Shares

एमालेसँग गठबन्धन गरेपछि माओवादी केन्द्रका मन्त्रीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले माओवादी मन्त्रीहरू नैतिकताका आधारमा सरकारमा बस्न नहुने धारणा राखे ।

‘प्रधानमन्त्रीले तत्काल माओवादी मन्त्रीहरूलाई बर्खास्त गर्ने विषय जोडतोडले उठेको छैन,’ कांग्रेस नेता डा. रामशरण महतले नयाँ पत्रिकासँग भने, ‘तर, सत्तारुढ दल भएर पनि विपक्षीसँग मिल्न गएपछि माओवादी मन्त्रीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने विषयले प्रवेश पाएको छ ।’

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता डा. प्रकाशशरण महतले भने माओवादी मन्त्रीहरूलाई बर्खास्त गर्ने विषयले प्रवेश नै नपाएको बताए । ‘हामी चुनावी तालमेल कसरी गर्न सकिन्छ र पार्टीभित्र कसरी उम्मेदवारको व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित छौँ,’ महतले भने, ‘सरकारमा कसलाई राख्ने र हटाउने भन्ने विषयमा प्रवेश गरेका छैनौँ ।’

नेता अर्जुननरसिंह केसीले पनि कांग्रेसमा नैतिकका आधारमा माओवादी मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठेको बताए । ‘सबैलाई संयोजन गरेर जानुपर्छ भन्नेमा माओवादी थियो, तर निर्वाचन गणतन्त्रलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्नुपर्ने वेलामा अप्रत्याशित रूपमा एमालेसँग मिल्न जाँदा देशमा धु्रवीकरणको स्थिति देखियो,’ केसीले भने, ‘यस्तोमा माओवादी मन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने विषय साथीहरूले उठाउनुभएको छ ।’ नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २० आश्विन २०७४, शुक्रबार  ७ : २३ बजे