३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

ओली दाहाललाई भण्डारीको लन्चः राष्ट्रपतिमा दोहोरिने ईच्छा


२२ माघ २०७४, सोमबार  

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लन्च मिटिङ’ गरेकी छन् ।

शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा.भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका विषयमा भने अनभिज्ञता व्यक्त गरे।

‘उहाँहरू (ओली-दाहाल) सँग राष्ट्रपतिज्यूको शनिबार शीतलनिवासमै भेटघाट भएको हो,’ डा.अधिकारीले अन्नपूर्णसँग भने, ‘अनौपचारिक भेटघाट भएकोले त्यहाँ हाम्रो सहभागिता रहने कुरा भएन, कुराकानी के भए त्यो पनि जानकारी हुने कुरा भएन ।’

तर, माओवादी केन्द्रका अध्यक्ष दाहालनिकट स्रोतका अनुसार, राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिस्ट पार्टीको एकता प्रक्रियादेखि नयाँ राष्ट्रपति चयनसम्मका विषयमा जिज्ञासा राखेकी थिइन् ।

अनौपचारिक कुराकानीमा अत्यन्त खुलेरै तीन नेताबीच कुराकानी भएको शीतलनिवास स्रोतले पनि बतायो । उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन् । अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार  ७ : ४९ बजे