३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

सिद्धार्थ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन


१९ फाल्गुन २०७४, शनिबार  

0
Shares

आङदावा शेर्पा

नेपालको तात्कालिन चौध अञ्चलहरु मध्ये लुम्बिनी अञ्चल पश्चिम नेपालमा उत्तर दक्षिण फैलिएको ऐतिहासिक महत्व भएको अञ्चल हो । शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थान रहेको लुम्बिनीको नामबाट लुम्बिनी अञ्चल रहन गएको हो । लुम्बिनी अञ्चलमा रहेको ६ वटा जिल्लाहरु मध्ये दक्षिणी भेगमा रहेको तीनवटा जिल्लाहरु कपिलवस्तु, रुपन्देही र नवलपरासी सिद्धार्थ गौतम बुद्धको जीवनसंग प्रत्यक्ष र अप्रत्यक्ष सम्बन्ध रहेका पुरातात्विक, धार्मिक र ऐतिहासिक महत्व भएका स्थानहरु रहेका छन् ।

प्राचीन कपिलवस्तु राज्यको शाक्य वंशीय राजा शुद्धोधनको विवाह रामग्राम (हालको नवलपरासी जिल्ला) को कोलिया वंशको रानी मायादेवीसँग भएको थियो । तात्कालीन राजकीय परम्पराअनुसार पहिलो बच्चा माइतीमा जन्मदिनको निम्ति कपिलवस्तुबाट रामग्रामतर्फ प्रस्थान गर्नु हुदा बीच बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म ईसापूर्व ६२३ वैशाख पूर्णिमाको दिन नेपालको लुम्बिनी अञ्चल रुपन्देही जिल्लाको लुम्बिनीमा जन्म भएको थियो ।

लेखक

इसा पूर्व तेस्रो शताब्दीमा मध्य भारतका सम्राट अशोकले आफनो राज्यभिषेकको बीसौ वर्षमा आफना धर्मगुरु उपागुप्तसहित शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गरी ढुंगाको स्तम्भ निर्माण गर्नको साथै सिद्धार्थ गौतम बुद्धले प्रथम पटक यही स्थानमा पाइला टेकेको भनी एक ‘शिला’ राखी त्यसैर्ला गर्वगृह बनाइ लुम्बिनीमा एक मन्दिरको स्थापना गरेका थिए । शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनीमा निर्माण भएको मायादेवी मन्दिर इसापूर्व तेस्रो शताब्दीदेखि विभिन्न समयमा जीर्णोद्वार हुदै आएको थियो । सन् १८९६ डिसेम्बर १ तारिखका दिन जर्मन पुरातत्वविद् डा एलोसिस फुहरर र खडग शमशेरले सिद्धार्थ गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा सम्राट अशोकले ईसा पुर्व तेस्रो शताब्दीमा स्थापना गरेको अशोक स्तम्भ पत्ता लगाएका थिए । सिद्धार्थ गौतम बुद्धको जन्मस्थान लुुम्बिनीमा सन १८९९ मा भारतीय परातत्वविद पुर्ण चन्द्र मुखर्जीले पुरातत्वीक उत्खनन गरेका थिए । सन १९६२ मा भारतीय पुरातत्वविद देवला मिश्रले बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको अशोक स्तम्भको सतही उत्खनन गरेका थिए । सन १९३२ देखि १९३९ मा सिद्धार्थ गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा रहेको मायादेवी मन्दिरलाई केशर शमसेरले पुर्ननिर्माण गरेका थिए । सन १९७२ देखि १९८५ सम्ममा सिद्धार्थ गौतम बुद्धको जन्मस्थान लुम्बिनीको पुरातत्व विभाग नेपालले पुरातत्वीक उत्खनन गरि उत्खनित क्षेत्रको संरक्षण गरेका थिए ।

सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनीमा रहेको माया देवी मन्दिरलाई सन १९९२ देखि १९९५ सम्ममा पुरातत्व विभाग नेपाल, जापान बुद्धिष्ठ फेडरेसन र लुम्बिनी विकास कोषको संयुक्ततत्वधानमा उत्खनन भएको थियो । मायादेवि मन्दिर नजिकै रहेको पिपलको रुखको जरा फैलिएर मायादेवि मन्दिर भत्काउन सकिने संभवना देखेर पिपलको रुख काटियो । पिपलको रुखको जरा निकाल्ने क्रममा सिद्धार्थ गौतम बुद्धले पहिलो पटक पाइला टेकेको स्थानमा रहेको ‘शिला’ पत्ता लागेको थियो । सम्राट अशोकले लुम्बिनीमा सिद्धार्थ गौतम बुद्धले प्रथम पटक यही स्थानमा पाइला टेकेको थियो भनी चिन्ह राखेको ‘शिला’ गर्व गृह बनाएर ईशा पुर्व तेस्रो शताब्दीदेखि लुम्बिनीमा निर्माण गरिएको माया देवि मन्दिरलाई विभिन्न समयमा जिर्णोदार गदै आएका छन ।

मायादेवि मन्दिर उत्खननको क्रममा सिद्धार्थ गौतम बुद्धले पहिलो पटक पाइला टेकेको पवित्र स्थानमा रहेको ‘शिला’ पत्ता लागेपछि उत्खननमा संलग्न लुुम्बिनी विकास कोष, जापान बुद्धिष्ठ फेडरेसन र पुरातत्व विभाग नेपालको अध्ययन र अनुसन्धानबाट प्रमाणित भएकोले नेपालको तात्कालिन प्रधानमन्त्रि श्री शेरबहादुर देउवाले २०५२ साल माघ २६ गते सिद्धार्थ गौतम बुद्धले पहिलो पटक पाइला टेकेको स्थानमा रहेको ‘शिला’ पत्ता लागेको घोषणा गरेको थियो ।

सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको अत्यन्तै महत्वपूर्ण पुरातात्विक प्रमाण भएकोले सारा संसारभरका बौद्धमागीहरुका निम्ति सुखद समाचार भएको छ ।

मायादेवी मन्दिरभित्र ईसापूर्व तेस्रो शताब्दीदेखि विभिन्न समयमा निर्माण गर्दै आएको पुरातात्विक अवशेषहरुको संरक्षण गरिएको छ । यसका साथै मायादेवी मन्दिरभित्र सिद्धार्थ गौतम बुद्धलाई मायादेवीले जन्म दिदा देवताहरुले पुष्प वृष्टि गरी स्वागत गरेको जन्म स्मारक ‘शिला’ रही आएको छ ।

लुम्बिनी विकास कोष, जापान बुद्धिस्ट फेडेरेसन र पुरातत्व विभागले उत्खनन गरिएको मायादेवी मन्दिरलाई नेपाल सरकार र लुम्बिनी विकास कोषले उत्खनन गरिएको मायादेवी मन्दिरलाई युनेस्कोको पुरातात्विक मापदण्ड अनुसार पुनःनिर्माण गरेर सन् २००३ देखि शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा रहेको मायादेवी मन्दिर सर्वसाधारणको निम्ति खुल्ला गरिएको थियो ।

क्रमश:

लेखक लुम्बिनी विकास कोषको पुर्व सदस्य सचिव हुन ।

 

 

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार  ७ : ०८ बजे