१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

सिद्धार्थ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको थप प्रमाण


२० चैत्र २०७४, मंगलबार  

0
Shares

आङ दावा शेर्पा

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा ईसापूर्व ६२३ वैशाख पूर्णिमाको दिन भएको थियो । वैशाख पूर्णिमाको दिन शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको, वुद्धत्व प्राप्ति भारतको बोधगयामा र महापरिनिर्वाण भारतको कुशीनगरमा भएकोले बौद्धमागीहरुले वैशाख पूर्णिमालाई त्रिशंकु महत्वको दिवसको रुपमा स्मरण गर्दै आएको छ । सिद्धार्थ गौतमले प्राचीन कपिलवस्तु राज्यको राजदरबार(हालको कपिलवस्तु जिल्लाको तिलौराकोट)मा २९ वर्षसम्म बिताएका थिए । मानव जातिलाई दुःख कष्टबाट मुक्ति पाउनका निम्ति २९ वर्षको उमेरमा राज दरबारको सुख र सुविधालाई तिलाञ्जली दिएर गृह त्याग गरेका थिए । ६ वर्षसम्मको कठोर त्याग र तपस्यपछि बोधगयामा वुद्धत्व प्राप्त गर्नु भएपछि आफनो जन्मस्थान लुम्बिनीको तीर्थ यात्रा गरेर आफनो जीवनको सबभन्दा महत्वपूर्ण स्थान लुम्बिनी भएकोले आफना अनुयायीहरुलाई बुद्ध जन्म स्थल लुम्बिनीको तीर्थ यात्रा गरेमा भावी जीवनमा लाभ प्राप्त गर्ने उपादेश दिनु भएपछि विभिन्न व्यक्तिहरुले बुद्ध जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गर्दै आएका छन् ।

 

लेखक

ईसा पूर्व २४९ मा मध्य भारतका सम्राट अशोकले शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको तीर्थ यात्रा गरेर ढुंगाको स्तम्भ निर्माण गरेर भगवान बुद्धको जन्म भएको शिला स्तम्भमा उल्लेख गरेका थिए । सिद्धार्थ गौतमले प्रथम पटक पाइला टेकेको स्थानमा सम्राट अशोकले एक पवित्र शिला राखी त्यसैलाई गर्वगृह बनाई एक मन्दिरको स्थापना गरेका थिए । ईसापूर्व तेस्रो शताब्दीदेखि विभिन्न समयमा निर्माण र जीर्णोद्दार गरिएको मायादेवी मंदिर बुद्ध जन्मस्थल लुम्बिनीको महत्वपूर्ण धार्मिक, सांस्कृतिक र पुरातात्विक उपलब्धिको रुपमा रहेको छ ।

चौथो शताब्दीमा चीनको प्रसिद्ध तीर्थयात्री फा—यानले शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गरेका थिए । सातौं शताब्दीमा चीनका अर्का प्रसिद्ध तीर्थयात्री हवेङग साङले बुद्ध जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गरेका थिए । चौधौ शताब्दीमा जुम्लाका राजा रिपु मल्लले शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गरेका थिए ।

चौधौ शताब्दीदेखि उन्नाइसौ शताब्दीसम्म करिब ५०० वर्ष सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी ओझेलमा परेको देखिन्छ । सन् १८९६ डिसेम्बर १ तारिखका दिन खडग शमशेर र जर्मन पुरातत्वविद् एलोसिस फूहररले शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ पत्ता लगाएपछि संसारभर सिद्धार्थ गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको प्रचार भयो । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरलाई सन् १९३२ देखि १९३९ मा केशर शमशेरले जीर्णोद्दार गरेका थिए । सन् १९९२ देखि १९९५ सम्ममा लुम्बिनी विकास कोष, पुरातत्व विभाग र जापान बुद्धिस्ठ एसोसिएसनले उत्खनन गर्ने क्रममा सिद्धार्थ गौतम बुद्धले पहिलोपटक पाइला टेकेको ठाउमा सम्राट अशोकले चिन्हस्वरुप राखेको शिला पत्ता लागेको थियो ।

सन् १९५६ मा धर्मोदय सभाले सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको विकास गर्नुपर्ने आह्वान गरेपश्चात तात्कालीन नेपालका राजा महेन्द्रले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए ।

सन् १९५९ को मार्च महिनामा संयुक्त राष्ट्र संघको तात्कालीन महासचिव दागहेमरस कोइलाडले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए । सन् १९६७ को अप्रिल महिनामा संयुक्त राष्ट्र संघका तात्कालीन महासचिव उथान्तले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गरेपछि संयुक्त राष्ट्र संघमा लुम्बिनीको विकासको निम्ति विशेष पहल गरियो । सन् १९७० मा नेपाल सरकारले लुम्बिनीको विकासको निम्ति लुम्बिनी विकास समिति गठन गरियो । त्यही सालमा संयुक्त राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधित्वको नेतृत्वमा लुम्बिनी अन्तराष्ट्रिय विकास समिति गठन भयो ।

सन १९७२ मा जापानका प्रसिद्ध बास्तु कलाविद प्रा केन्जो टाङगेलाई लुम्बिनी विकासको निम्ति गुरुयोजना तयार गर्ने जिम्मेवारी दिएको थियो । सन् १९७२ देखि १९७८ सम्ममा प्रा केन्जो टाङगेले अध्ययन अनुसन्धान गरी सन् १९७८ मा लुम्बिनी विकासको निम्ति तयार गरिएको गुरु योजनालाई संयुक्त राष्ट्र संघले पारित ग¥यो । राष्ट्र संघले पारित गरेको गुरुयोजनालाई नेपाल सरकारले पनि अनुमोदन गरी लुम्बिनीको विकासको कार्य सुरुवात गरियो । सन् १९८१ को फेबररी महिनामा संयुक्त राष्ट्र संघका तात्कालीन महासचिव कुर्टवाडह्यामले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए ।

 

सन् १९८५ मा नेपाल सरकारले लुम्बिनीको विकासका निम्ति लुम्बिनी विकास कोष ऐन लागु गरियो । सन् १९८९ मा संयुक्त राष्ट्र संघका तात्कालीन महासचिव ज्यावियर प्यारेजकोइरलले लुम्बिनीको भ्रमण गरेका थिए । सन १९९७ मा सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई संयुक्त राष्ट्र संघ अन्तर्गत युनेस्कोको विश्व सम्पदा सूचीमा सुचीकृत गरियो । सन् १९९८ मा लुम्बिनी ‘ विश्व शान्तिको मुहान ’ को नारासहित सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रथम विश्व बौद्ध सम्मेलन सम्पन्न गरियो । त्यस्तै सन् २००४ मा लुम्बिनी ‘विश्व शान्ति शहर’ को नारासहित दोस्रो विश्व बौद्ध सम्मेलन सम्पन्न गरियो । सन् २००८  मा संयुक्त राष्ट्र संघका तात्कालीन महासचिव बान कि मुनले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए ।

क्रमशः

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलबार  ६ : ५९ बजे