काठमाडौं। महासमितिमा अनुमोदनका लागि लैजान लागिएको नेपाली कांग्रेसको विधान केन्द्रीय समितिमै अड्किएको छ । पदाधिकारीबारे विवाद बढेपछि मंगलबार राति शीर्ष नेताबीच सहमति जुटेको थियो ।
उक्त विधान कांग्रेस केन्द्रीय समिति बैठकले पारित गर्नुपर्ने प्रावधान बमोजिम बुधबार केन्द्रीय समितिमा प्रस्तुत गरियो ।
बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा पूर्णबहादुर खड्काले प्रस्तुत गरेको विधान ख्यालख्यालको भएको भन्दै केन्द्रीय सदस्यहरुले आपत्ति जनाए ।
बैठकमा गगन थापादेखि बहादुरसिंह लामासम्मले पदाधिकारी समावेशी नभएको भन्दै आपत्ति जनाएका थिए ।
केन्द्रीय सदस्य थापाले संरक्षण एकपटक मात्र पाउनुपर्ने विषय विधानमै समेट्नुपर्ने धारणा राखे । केन्द्रीय सदस्य लामाले समावेशी लागु नगरे विधान अनुमोदनै गर्न नदिने अड्डी कसे । त्यसैगरी केन्द्री सदस्य महेन्द्र यादवले पदाधिकारीमा मधेसी, जनजाति र महिलाको प्रतिनिधित्व सुनिश्चित हुनपर्ने माग गरे ।
कांग्रेसले केन्द्रीय समितिबाट विधान पारित गरेर महासमितिमा पेश गर्ने तयारी गरेको थियो । बुधबारको बैठकमा सहमति नजुटेपछि केन्द्रीय समिति स्थगित भएको छ । अर्को केन्द्रीय समितिबाट विधान पारित गरेपछि मात्र महासमितिमा विधान पेश गरिनेछ ।
यही विधान संशोधनका लागि मंसिर २९ देखि राजधानीको यगम्बर पार्टी प्यालेसमा कांग्रेसको महासमिति बैठक शुरु भएको थियो । मंगलबार समापन गर्ने तयारी रहेको महासमितिमा विधान मस्यौदा पेश हुन नसक्दा महासमिति नै अन्यौलमा परेको छ ।