२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

खाडीको कथालाई र्‍यापमा उतारेर प्रशंसा बटुल्दै ‘मिस्टर डी’


२१ चैत्र २०७५, बिहिबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

हारे आमा हारे मैले जित्नै सकिनँ
रुख थियो पैसाको मैले टिप्नै सकिनँ

‘खाडी’ शीर्षकको अन्तिम प्याराले धेरैको मन इमोसनल बनाउँछ । र्‍याप गीतमा छाडापन र गालीमात्र हुँदैन भनेर यो गीतले प्रमाणित गर्न खोजेका छन् ।

‘मिस्टर डी’ अर्थात सन्दीप विष्टले खाडीमा जानुपर्ने कारण र खाडीमा पाउने दुःखलाई पाँच मिनेटमा ढालेका छन् ।
गीतलाई धेरैले मनपराउन थालेसँगै अहिले मिस्टर डी पनि चर्चामा आएका छन् ।

मकवानपुरका विष्टले खाडीबाट फर्केका एक जनालाई भेटेका रहेछन् । गफिँदै जाँदा उनले विदेशका दुःख सुनाए । यही विषय खाडीमा उतारेको सन्दीपले बताए ।

मिस्टर डीलाई शुरुमा ’गोबर ल्याँठ’ गीतले चिनायो ।

म त मान्छे परे एकदम गोबरल्याँठ
भाग्यले पनि हान्यो मलाई ओभरट्याक

सन् २०१२ तिर गायनमा भविष्य खोज्ने समुहको ’सोल्टाज’ ब्यान्डमा आवद्ध भए उनी । तर, ब्यान्ड चर्चामा आएन । ब्यन्डका साथीहरु सुरक्षित भविष्य खोज्दै बिदेशिए ।

तर, उनले हरेश खाएनन् र अनेकन प्रयास गरे । थुप्रै गीतहरु रेकर्ड गराए । तर ती चर्चामा आएनन् । बल्ल गोबरल्याँठले चर्चामा ल्यायो । खाडीले अझै चिनायो । र्‍यापरहरु चुरोटे र गाँजडी हुने बताइन्छ । तर, मिस्टर डि चुरोट, गाँजा केही खाँदैनन् । त्यसैलाई दर्शाउन उनले हामीलाई र्‍याप शैलीमै सुनाए, ‘मलाई र्‍यापैले हानिसकेको थियो टाउकोमा । र्‍याप हानेर एकदिन राम्रो मान्छे बन्छु भन्ने भयो ।’

हेटौंडाका भए पनि उनको बाल्यकाल वीरगंजमा बित्यो । ‘वीरगंजमा गीत रेकर्डिङ गराउने ठाउँ भेट्नै गाह्रो । स्टूडियोको नाममा फोटो स्टूडियो मात्र । बल्लतल्ल भोजपुरी गीत रेकर्डिङ हुने ठाउँ भेट्यौं । टेक्निसयन पनि उता बिहारबाट आएको हुने,’ सुनाए, ’हामी फुच्चेहरुलाई चान्स कसले देओस् ? चिसो भूँइमा सुतेर पालो कुथ्र्याैं । अनि राति १२÷१ बजे अरुको रेकर्डिङ सकेर हाम्रो पालो आउँथ्यो ।’
केहीदिन पछि गीत तयार भएको गीतमा अटो ट्युन ‘क्याउँ क्यूँ’ आएको उनले बताए । ती ट्युनहरु भोजपुरी गीतमा हुने एउटा ट्युन भएको थाहा भए पछि निराश भएर फर्केको उनले सुनाए ।

परिवारको डरले उनले स्टेज नाम मिस्टर डिपिप राखे । त्यो नाम मानस सुब्बाले राखिदिएको उनले सुनाए । पछि युट्युब च्यानल ‘मिस्टर डी’ बनाए । परिवारको डरले भूमिगत नाम राखेको उनले सुनाए । आफ्नो पहिचान लुकाएर ‘मिस्टर डी’ बनेका सन्दिपलाई अहिले घरका सबैको साथ छ । अहिले उनका तीन दिदी र आमाले उनका र्‍याप सुन्न थालेका छन् ।

भन्छन्, ‘अहिले त यही नाम नै प्यारो लाग्न थालेको छ ।’

शुरुमा उनले ‘संघर्ष’ बोलको गीतलाई युट्यबु च्यानलबाट अपलोड गरे । आफैले अपलोड गरेको गीत सुन्ने आफू मात्रै भएको आभाष हुन्थ्यो उनलाई ।

‘भ्यूज पनि दुई तीन सयमात्र हुन्थ्यो,’ विगत सम्झे उनले । अहिले त हरेक गीतमा लाख बढीको भ्यूज हुने गर्छ ।’

‘नाच वसन्ती’, ‘शनिबार’, ‘बन्दै छ नेपाल’ लगायतका र्‍यापलाई दर्शकले धेरै रुचाएका छन् ।

उनी जति सक्दो धेरै वृद्धवृद्धालाई आफ्नो र्‍याप सुनाउन चाहन्छन् । सुनाए, ‘मेरो सोच भनेको चाहिँ बुढापाकाले पनि सुनोस् भन्ने हो । कन्सर्टमा जाँदा बुढापाकाहरु आएको देख्दा खुशी लाग्छ ।’

‘बन्दै छ नेपाल’बाट उनलाई स्टेज कार्यक्रमको अफर आउन थाल्यो । त्यसपछि उनले आफूले गर्दै आएको काम छाडे । ¥यापहरु चल्न छोड्यो भने के गर्ने त ? जवाफमा उनले भने, ‘मलाई काम गर्न लाज लाग्दैन । सर्टिफिकेटको घमण्ड छैन । फर्केर सिमेन्टी बोकेर पनि अथवा लेबर काम गरेर पनि जिन्दगी बिताउन सक्छु । अझै जिन्दगी बुझ्ने क्रममा छु ।’

वीरगंजमा एसएलसी सकाएका उनले प्लस टु चाहिँ हेटौंडामा सकाए । उनले र्‍याप गाउन थालेको ८ वर्ष मात्र भयो । २ वर्ष यता उनी चर्चामा छन् । बुबाले सानैमा छोडेर गएदेखि आमा र उनको काँधमा परिवारको जिम्मेवारी आयो । उनका बुबाले अर्की श्रीमती लिएर जाँदा उनी कक्षा ४ पढ्थे ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ९ : ३९ बजे