१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

जनजातिले मनाउने चाडमा विदा पुनस्थापना माग गर्दै गृहमन्त्रीलाई ज्ञापन



काठमाडौं– तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू ल्होछारमा दिँदै आएको सार्वजनिक विदा खारेजीको विरोध गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन–पत्र बुझाएको छ ।

तमू ल्होछार अर्थात् पुष १५, उधौली–उभौली, सोनम ल्होछार, ग्याल्पो ल्होछार र माघी/माघे संक्रान्ति लगायत आदिवासी जनजाति समुदायका चाडमा दिँइदै आएको विदा खारेज भएको सार्वजनिक विदा पुर्नस्थापना गर्न माग गर्दै परिषद्ले ज्ञापनपत्र बुझाएको हो ।

परिषद्का अध्यक्ष रेशम गुरुङले अब प्रधानमन्त्री केपी ओलीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए । उनले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

‘वर्तमान सरकार गठन भएयता अघिल्ला सरकारले आदिवासी जनजातिका चाडपर्वमा दिँदै आएको सार्वजनिक विदाका पाँच दिन खारेज गरी एउटै सामाजिक र धार्मिक समुदायको चाडपर्वमा मात्रै सार्वजनिक विदा दिने प्रथाको विकास गर्दा गणतन्त्र नै खोसिएको अनुभूति गराएको’ ज्ञापनपत्र उल्लेख छ ।

यस्तै ज्ञापनपत्रमा सरकारले अघि सारेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारालाई यसले कदापि सहयोग नहुने पनि उल्लेख छ ।

माग सम्बोधन नभए आउँदो पुष ६ गते सबै प्रदेशमा तमू ल्होछार विदाको माग गर्दै विशाल विरोध सभा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले आफूले सकरत्मक रुपमा लिएको प्रतिक्रया दिँदै सक्दो पहल गर्ने बताए । मन्त्री थापाले सबै जातजातिका चाडपर्वमा विदा दिन प्रयास गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  २ : १२ बजे