एजेन्सी– फिजीमा आइतबार आएको भीषण आँधीको कारण दुई जनाको मृत्यु भएको छ । ‘सरै’ नाम दिइएको यो आँधीका कारण २५ सय भन्दा बढीलाई आश्रयस्थलको आवश्यकता परेको जनाइएको छ ।
प्रतिघण्टा १५० प्रतिकिलोमिटरको गतिमा आँधी आएको सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।
यस आँधीमा परेकाहरुलाई आपतकालीन आश्रयस्थलको आवश्यकता परेको अधिकारीहरुले जनाएका छन् । आँधीबाट घरहरु भत्किनुका साथै बालीनाली र रुखहरु ढलेका छन् । त्यसैगरी विद्युत सेवा अवरुद्ध भएको छ । आँधीका कारण दर्जनौ उडान रद्ध भएका छन् ।
पर्यटकीय मौसमको बेला यस्तो घटना भएकाले धेरै पर्यटकहरु मर्कामा परेको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिती साकोले १८ वर्षीय एक जना विद्यार्थीको काडाभुमा मृत्यु भएको बताएका छन् ।
अर्का झण्डै ४० वर्षका व्यक्तिको पनि शव भेटिएको उनले जानकारी दिएको समाचारहरु जनाइएको छ । भिटीलेभु भन्ने ठाउँमा नदी तर्न लागेको बेलामा ती व्यक्तिको चक्रवातमा परी मृत्यु भएको अनुमान गरिएको निर्देशक भासितीको भनाई छ ।
आँधीमा परी सिकिस्त घाइते भएका अर्का एक व्यक्तिको पनि अस्पतालमा उपचार भइरहेको छ । ती व्यक्ति भने आँधीका कारण ढलेको रुखले च्यापेर घाइते भएको बताइएको छ ।
आँधीका कारण अवरुद्ध भएको विद्युत सेवा सुचारु हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् ।