१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

कोरोनाबाट मर्नेको संख्या ६ लाख ८९ हजार, भारतीय गृहमन्त्री संक्रमित



न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले आइतबार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको जनाएको हो ।

त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ ।

भारतका गृहमन्त्री संक्रमित, प्रदेश मन्त्रीको मृत्यु

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका छन् ।

शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

त्यसैगरी भारतमा उत्तर प्रदेशका मन्त्री कमल रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।

उनीसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ३६४ पुगेको छ भने पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या साढे १७ लाखभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ०९ बजे