१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

म्यानह्याटनको टर्मिनल फाइभमा नेपथ्यले प्रस्तुती दिने, १६ वर्ष मुनिकालाई फ्री इन्ट्री



नेपाली गीत संगीतमा छुट्टै पहिचान बनाएको नेपालको चर्चित लोक रक समुह नेपथ्यले अगस्ट ३० मा न्यूयोर्कको म्यानह्याटनस्थित टर्मिनल फाइभ तताउँदै छ ।

आयोजकले पत्रकार सम्मेलन गरी नेपथ्यको ऐतिहासिक साँझको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको हो । ऐतिहासिक साँझ कार्यक्रमको टिकट समेत करिब ७० प्रतिशत बिक्री भइसकेको आयोजकले जनाएको छ ।

आयोजक याक प्रोडक्सन, डिजे रित र इसेन्स स्माइल्सले तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यको साङ्गीतिक कार्यक्रम गर्न लागेको हो । आयोजकले शत प्रतिशत टिकट बिक्री हुने विश्वास राखेको जनाएको छ। साथै, कार्यक्रम नजिकिँदै गर्दा टिकट अभाव हुन सक्ने जनाएको छ।

‘परिवारका सबै सदस्यले मनोरञ्जन लिन सकुन् भनेर १६ वर्ष मुनिकालाई फ्री इन्ट्रीको व्यवस्था गरेका छौँ,’ इसेन्स स्माइल्सकी डा. सुलोचना गुरुङले भनिन्, ‘तपाईँहरूले आफूसँग १६ वर्ष मुनिका परिवारका सदस्य लिएर आउन सक्नुहुन्छ र परिवारसँगै मनोरञ्जन गर्नसक्नु हुनेछ ।’

याक प्रोडक्शनकी छोमो डसेलले नेपथ्यजस्तो ‘लिजेन्डरी ब्याण्ड’ लाई टर्मिनल फाइभ जस्तो ठुलो ‘भेन्यू’ मा प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताइन् । नेपथ्यलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा आफुलाई एकदमै खुशी र गर्व लागेका बताउँदै कार्यक्रममा उपस्थित भई नेपाली संगीतलाई माया गरिदनु अनुरोध गरिन् । पछिल्लो समय नेपाली कलाकारका लागि न्यूयोर्क उर्वर विकल्प बनेको छ भने न्यूयोर्कमा कलाकार र फिल्महरू बाक्लै आउन थालेका छन् ।

टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्युआर कोड स्क्यान वा गुगल सर्च गर्नुपर्ने छ । साथै, टर्मिनल फाइभको वेबसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिङ्क सजिलै भेटिन्छ । म्युजिकल टुरमा अमेरिकामा रहेको नेपथ्य समूहले ३ वटा शहरमा आफ्नो प्रस्तुती दिइसकेको छ ।

टर्मिनल फाइभमा साँझ ठीक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले जनाएको छ । कार्यक्रमस्थलमा नेपाली खानाको स्टल समेत हुनेछ । आयोजकले कार्यक्रममा मदिराजन्य पदार्थ राख्ने छैन, तर टर्मिनल फाइभ ब्यवस्थापनको बार भने खुला रहने छ । नेपथ्यले लोक संगीतलाई रक शैलीमा गाएर नेपाली संगीतलाई अन्तराष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ ।

नेपाली श्रोता र दर्शकहरुबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

नेपथ्यको अमेरिकाको म्युजिकल टुर अगस्ट ३ मा कोलोराडो बोल्डर थियटरबाट सुरु भएको थियो । नेपथ्यले सान फ्रान्सिस्कोको द वारफिल्ड, ओहायोको केम्बा लाइभमा प्रस्तुति दिइसकेको छ ।

दर्शकको भावनालाई बुझेर स्टेजमा प्रस्तुती दिने साथै नाच्न र नचाउन माहिर समूह नेपथ्यले बेलायतको वेम्ब्ली स्टेडियमलगायत विदेशका ६५ तथा स्वदेशमा ५० बढी स्थानमा कन्सर्ट गरिसकेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १ : ३८ बजे