बिश्व शेर्पा संघले हालै हिमताल फुटेर क्षतिग्रस्त सोलुखुम्बुको प्राचीन बस्ती थामेको पुनर्निर्माण गर्न वा फेरी पनि खतरा भए बस्ती अर्को ठाउँमा सार्ने सम्बन्धमा अध्ययन गरी तत्काल प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले सो ध्यानाकर्षण गराएको हो।
थामे भौगोलिक हिसाबले अत्यन्तै बिकट भएका कारण सबै सामानहरु हेलिकप्टर, खच्चर वा याकले दुवानी गर्नु पर्दा अत्यधिक महँगो पर्ने भन्दै संघले क्षतिग्रस्त घरहरु निर्माण गर्न नेपाल सरकारको सहयोग अपरिहार्य रहेको औंल्याएको छ। निमा शेर्पा (बरिष्ठ उपाध्यक्ष, विश्व शेर्पा संघ),आङ जाङ्बु शेर्पा(महासचिब,विश्व शेर्पा संघ),पासाङ दोर्जी शेर्पा (ए. पि. लामा)(अध्यक्ष, शेर्पा संघ अमेरिका तथा सदस्य,विश्व शेर्पा संघ)ई. तेम्बा शेर्पा(अध्यक्ष, शेर्पा किदुग न्युयोर्क अमेरिका तथा सदस्य, विश्व शेर्पा संघ),पेम्बा गिर्मे शेर्पा लामा (सचिब,शेर्पा संघ अमेरिका) द्वारा संयुक्त हस्ताक्षरित सो ज्ञापन पत्रमा पर्बतारोहण पेशामा लागेका आरोही शेर्पाहरुको न्युनतम जीवन बीमा १५ लाख रहेकोमा त्यसलाई बढाएर न्युनतम ३० लाखभन्दा माथि पुर्याउनु पर्ने, हिमालमा दुर्घटनामा परेका शेर्पाहरुको बाल बच्चाको शिक्षादीक्षा र रोजगारी सरकारले उपलब्ध गराउनु पर्ने,पर्यटन बिकासमा ठुलो योगदान पुर्याउँदै आएका बौद्ध धार्मिक स्थल, स्तुपा चैत्य र गुम्बाहरु अतिक्रमण तथा जीर्ण अवस्था रहेको हुँदा नेपाल सरकारले त्यस्को सुरक्षा तथा जिर्णोद्वार गर्नुपर्ने,प्राथमिक तहमा स्थानीय भाषाको अध्ययन अध्यापन गराउने नीति अन्तर्गत शेर्पा गाउँहरुमा शेर्पा भाषाको पढाई हुने व्यवस्था मिलाउनु पर्ने लगायतका माग राखेर ज्ञापन पत्र बुझाएको विश्व शेर्पा संघका महासचिब आङ जाङ्बु शेर्पाले एभरेष्ट टाईम्सलाई जानकारी दिएका छन्।