१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्रकृतिसँगको मौन क्रान्ति: चिलीको पटागोनियामा इकोट्रेक २०२५



ल्हाक्पा गेलु शेर्पा
चिलीको दक्षिणी सुदूर भूभाग – जहाँ पृथ्वी आफैं मौन कविता झैं बगिरहेको हुन्छ, र हावा एउटा प्राचीन सन्देश बोकेर पहाडहरूसँग सुसाउँदै हिँड्छ, त्यहीँ सम्पन्न भयो इकोट्रेक २०२५ । अप्रिल १ देखि ७ सम्म चलेको यो पदयात्रा कुनै साहसिक अभियान मात्र थिएन, यो एक मौन विचार–क्रान्ति थियो । चेतनाको पगडण्डीमा हिँड्ने हामी मानवहरूका लागि, जसले प्रकृतिलाई सजावट होइन, सम्बन्धका रूपमा हेर्छन् ।

अमेरिका, नेपाल, भारत, पेरु, भुटान, चिली, स्पेन र ब्राजिलबाट आएका सहभागीहरूले कोइहाईकेको ताजा नीलो आकाशमुनि, कोक्रानको मौन पहाडहरूबीच, भिल्ला ओ’हिगिन्सको एकान्तिक छायामा र सिस्ने तालको अपार नीलिमा भिज्दै हरेक पाइलामा नयाँ प्रश्नहरू बोके, र हरेक मौनता नयाँ उत्तर बन्ने प्रयत्न गरे ।

यो यात्रा केवल पैदल मार्गको मात्र थिएन । वास्तवमा, यो एक अनुभव थियो । संवेदनामा हुने सुस्केरा, दृष्टिमा देखिने मौनता, र हृदयमा बग्ने सम्झनाहरूको काव्य थियो ।

त्यस यात्रामा सँगै हुनुहुन्थ्यो ग्यालवाङ दोखाम्पा रिन्पोछे । Live to Love नामक अन्तर्राष्ट्रिय अभियानका संस्थापक, जसको जीवनकार्य पाँच मूल स्तम्भहरूमा आधारित छ; वातावरण संरक्षण, महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य सेवा, र अन्तरधार्मिक सद्भाव । उहाँका सन्देशहरू केवल प्रवचन थिएनन्, त्यसमा वातावरण र जीवन–दर्शनप्रति गहिरो सम्बोधन थियो, विचारमा रोपिने बीउहरू, जो समयसँगै फूल फुक्थे ।

यही चेतनाको बीजारोपणबाट इकोवाकको परिकल्पना अंकुरिएको थियो। एक दशकभन्दा बढी समयदेखि रिन्पोछेले नेपालको उच्च हिमाली गाउँहरू, भारतका वन्य पथहरू, र भुटानका मौन हरियालीहरूमार्फत यस्तो यात्रा गर्दै आउनुभएको छ । जहाँ हिँड्नु भनेको आफैंमा ध्यान हुन्छ, र प्रत्येक पाइलाले पृथ्वीप्रति कृतज्ञताको संकेत गर्दछ ।

नेपालमा, उहाँले युवा विद्यार्थीहरूलाई लिएर लाङटाङ क्षेत्रका पर्वतीय पथहरूमा सफाइ यात्रा गरेका थिए । जहाँ उनीहरू सँगसँगै प्लास्टिक उठाएका थिए । त्यसो त त्यो भौतिक कुराहरु हटाएको श्रपमा मात्र लिन हुन्न । उनीहरु सोचलाई नै सफा गरिरहेका थिए । भारतको लदाखमा उहाँले बौद्ध भिक्षुहरू र शिक्षकहरूसँग मिलेर जलवायु परिवर्तनको प्रभावमा परेका गाउँहरूमा चेतना फैलाउने अभियान सञ्चालन गर्नुभयो । भुटानमा, स्थानीय समुदायसँग मिलेर पर्यावरणीय शिक्षा र महिला नेतृत्व तालिमहरूमार्फत वातावरण संरक्षणलाई सामाजिक परिवर्तनको मेरुदण्ड बनाउनु भयो ।

यसवर्ष, ती पाइला पटागोनियामा आइपुगे । जहाँ यात्रुहरूले शारीरिक कठिनाइभन्दा पनि जीवन–दर्शन र प्रकृतिको गहिरो अर्थलाई महसुस गरे । चिसो, ताजा हावा र उचाइमा अवस्थित ट्रेलमार्गहरूले यात्रालाई चुनौतीपूर्ण बनाइदिए पनि न्यूयोर्कबाट सहभागी भएका फुर्वा निमा लामाले भने जस्तै प्रकृतिसँग गहिरो सम्बन्ध स्थापित गर्ने दुर्लभ अवसर बन्यो ।

प्रत्येक दिनको प्रारम्भ धुप पूजा र ध्यानबाट हुन्थ्यो, जुन बिहानको चिसो हावासँग मिलेर एउटा मौन प्रार्थना झैं सुनिन्थ्यो । साँझमा, ताराहरूको शान्त छायामा गरिएको ध्यानले केही नबोलिकन पनि मनका गहिराइमा परिवर्तनको सुरसार ल्याउँथ्यो ।

भिल्ला ओ’हिगिन्सको चौथो दिन साँझ यात्रुहरूलाई स्थानीय उपमेयरले स्वागत गरे । त्यो भाषण थिएन, साझा आत्मियता थियो । जसले यात्रु र स्थानीयबीचको सीमाना मेटायो । उपमेयरले भनेका थिए, “तपाईंहरूको यात्रा केवल पाइला होइन, भावना हो । तपाईंहरू यस सहरमा आउँदा, तपाईंहरूले माटो मात्र होइन, हाम्रो मन पनि छुने काम गर्नुभयो ।”

अन्तिम् दिन, जब सूर्यास्त चिलीको पर्वतहरूमा बिलाउँदै गयो, तब टासी शेर्पाले गहिरो स्वरमा भने, “हामी फर्किंदैछौं । तर अब हामी त्यही मानिस छैनौं । हामीले पथ देख्यौं, जसले हामीभित्रको सुस्ताइरहेको जिम्मेवारीलाई पुनः जागृत गर्‍यो । अब हामी हिँड्नेछौं — हरेक पाइला विचारले तौलिएको हुनेछ । हामी हेर्नेछौं , सजावटको आँखाले होइन, सरोकारको दृष्टिले ।”

फोटो सौजन्य: फुर्वा निमा लामा

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १० : ४१ बजे