२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

राग, द्वेष र मोह त्याग्न सके मात्र जीवन सुखमय हुन्छ: खेन सांगे राङजुङ रिम्पोछे



नर्थ क्यारोलिना, अमेरिका । बौद्ध धर्म गुरु खेन सांगे राङजुङ रिम्पोछेले मानव जीवनमा हुने दुःखकष्टको मूल कारण राग, द्वेष र मोह भएको बताएका छन् । नेपाली कम्युनिटी सेन्टर नर्थ क्यारोलिना (एनसिएनसी) ले आयोजना गरेको विशेष धार्मिक कार्यक्रममा रिम्पोछेले आन्तरिक मनको शुद्धता नै जीवनको सार्थकता हो भन्ने संदेश दिएका हुन् ।

“जबसम्म ‘मेरो’ भन्ने अहंकार त्याग्न सकिन्न, जबसम्म अरूप्रति ईर्ष्या छोड्न सकिन्न, र जबसम्म मनबाट आउने रिस नियन्त्रण गर्न सकिन्न, तबसम्म जीवनमा साँचो सुख र आनन्द प्राप्त हुन सक्दैन” उनले भने ।

रिम्पोछेले सबै जीवप्रति करुणाको भाव राख्न सके, ‘आफ्नै सन्तानजस्तै’ दृष्टिकोणले हेर्न सके राग, रिस र मोह क्रमशः कम हुँदै जाने धारणा व्यक्त गरे ।

तिब्बती भाषामा गरिएको उक्त प्रवचनलाई खेन्पो पेमाछिरिङ शेर्पाले नेपालीमा अनुवाद गरेका थिए । कार्यक्रममा एनसिएनसीका अध्यक्ष डा. विकास शाक्यले रिम्पोछेबाट प्राप्त शिक्षाले आफूले पनि नयाँ ज्ञान प्राप्त गरेको बताउँदै बौद्ध दर्शनमार्फत मानव जीवनलाई अर्थपूर्ण बनाउन सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रम संस्थाका महासचिव कल्पना भण्डारीले रिम्पोछेको स्वागत र संक्षिप्त परिचय दिँदै कार्यक्रमको शुभारम्भ गरेका थिए । करिब डेढ घण्टा लामो प्रवचनपछि सहभागीहरुले रिम्पोछेसँग आफ्ना जिज्ञासा राख्ने अवसर समेत पाएका थिए ।

खेन सांगे राङजुङ रिम्पोछे को हुन्?

सन १९६० मा दोलखा जिल्लामा जन्मिएका खेन सांगे राङजुङ रिम्पोछे सात वर्षको उमेरदेखि नै बौद्ध धर्म अध्ययनमा लागेका व्यक्ती हुन् । औपचारिक शिक्षा पूरा गरेपछि उनले सन् १९९४ मा भारतको नाम्ड्रोलिङ गुम्बास्थित ‘इन्स्टिच्युट अफ नाङग्युर ङिङमा’ बाट “खेन” उपाधिसहित बौद्ध दर्शनमा विद्यावारिधि हासिल गरे । उक्त उपाधि उनलाई ध्रुववाङ पेमा नुर्बु रिम्पोछेले प्रदान गरेका हुन् ।

त्यसपश्चात उनले दिल्गु खेन्चे रिम्पोछे, दिन्जुम रिम्पोछे, पेनोर रिम्पोछे तथा जाट्रल सांगे रिम्पोछेजस्ता प्रख्यात बौद्ध गुरुहरूबाट विशेष शिक्षा, दीक्षा र अभिषेक प्राप्त गरेका छन् ।

रिम्पोछे नेपालको नाङग्युर फयुल उर्गेन दोर्जे छोइलिङ गुम्बाका संस्थापक समेत हुन् । राजधानी काठमाडौं नजिकै अवस्थित उक्त गुम्बामा हाल ६ सयभन्दा बढी भिक्षुहरू अध्ययनरत छन् । नेपालका शिक्षा विभागबाट मान्यता प्राप्त यो गुम्बाले उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको छ र यहाँबाट हालसम्म १५ जना खेन्पो (धर्माचार्य) उत्पादन भइसकेका छन् ।

गुम्बाबाट उच्च शिक्षा हासिल गरेका धेरै भिक्षुहरू हाल लुम्बिनी विश्वविद्यालयमा विद्यावारिधिको अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : २३ बजे