३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पक्राउ



नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो ले बुधबार सिन्धुलीबाट पक्राउ गरेको छ ।

स्मार्ट टेलिकम प्रालि (स्मार्ट सेल) को सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरेको र बिक्रीबाट प्राप्त रकममध्ये करिब ४० करोड रुपैयाँ बराबरको घरबहाल कर तथा विद्युत् महसुल नतिरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।

स्मार्ट सेलले लाइसेन्स नवीकरण शुल्क तथा अन्य बक्यौता नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरण ले २०८० वैशाखमा कम्पनीको लाइसेन्स खारेज गरेको थियो । कम्पनीले तिर्न बाँकी रकम जरिवानासहित करिब ३० अर्ब रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ ।

यसैबीच बैंकले ऋण असुलीका लागि २०८२ साउनमा स्मार्ट सेलको धितो सम्पत्ति लिलाम बिक्रीको सूचना प्रकाशित गरेको थियो । लिलामी प्रक्रियामा एनसेल आजियाटा, ट्रान्सगेट टेक प्रालि र प्रोफेसनल बिजनेस नेटवर्क सहभागी भएका थिए । सबैभन्दा उच्च ४ अर्ब ६० करोड रुपैयाँ प्रस्ताव गरेपछि एनसेलले उक्त सम्पत्ति प्राप्त गरेको थियो ।

सिआइबीले एनसेल र स्मार्ट सेलमा केही साझा लगानीकर्ता रहेको देखिएकाले लिलामी प्रक्रिया थप अनुसन्धानको दायरामा परेको जनाएको छ । यसअघि स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

यो घटनापछि बैंकमा राखिएको धितो सम्पत्तिमा पहिलो अधिकार कसको हुने भन्ने प्रश्न उठेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार ऋण असुलीका क्रममा धितोमा पहिलो अधिकार बैंक तथा वित्तीय संस्थाकै हुने व्यवस्था छ । लिलामीबाट बिक्री नभए बैंकले आफैं सम्पत्ति सकार्न सक्ने कानुनी प्रावधान पनि रहेको छ ।

यद्यपि, प्राधिकरणले लाइसेन्स खारेज भइसकेको कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया चलिरहेका बेला बैंकले लिलाम गरेको जनाएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कम्पनीको सम्पत्ति र दायित्वको पुनर्मूल्यांकन सम्पन्न नहुँदै लिलामी गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले सामान्यतया धितोमा पहिलो अधिकार बैंकहरूको हुने भए पनि सरकारी नियन्त्रणमा रहेको सम्पत्तिको हकमा सम्बन्धित निकायबीच समन्वय आवश्यक पर्ने बताएका छन् ।

यस प्रकरणले बैंकको धितो अधिकार, सरकारी नियामकको भूमिका र सार्वजनिक दायित्वबीचको कानुनी सीमारेखाबारे व्यापक बहस सिर्जना गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ८ : ११ बजे