२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

जालसाजी गरेको आरोपमा भट्ट, अग्रवालसहित ४२ विरुद्ध ११ अर्ब बढीको बिगो दाबी



काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडसहित विभिन्न बीमा तथा वित्तीय संस्थासँग सम्बन्धित ४२ जनाविरुद्ध सेयर कारोबारमा जालसाजी, कालोबजारी तथा अनुचित लाभ लिएको आरोपमा ११ अर्ब २६ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, हिमालयन क्यापसर्भ लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड तथा हिमालयन इन्भेष्टमेन्ट बैंकरसँग आबद्ध व्यक्ति तथा सञ्चालकहरूलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

अभियोगपत्रमा विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सन्दीप चाचन अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाहलगायतको मिलेमतोमा बीमा कम्पनीहरूको सेयरमा योजनाबद्ध रूपमा जालसाजीपूर्ण कारोबार गरिएको उल्लेख छ। उनीहरूले कृत्रिम कारोबारमार्फत सेयर बजारमा कालोबजारी गरी अनुचित लाभ लिएको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा हिमालयन रि–इन्स्योरेन्सले सेयर खरिदका लागि भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५) लाई उपलब्ध गराएको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ पेस्की रकम हालसम्म फर्स्योट नभएको र उक्त रकम दुरुपयोग भएको दाबी अभियोगपत्रमा गरिएको छ।

सीआईबीको अनुसन्धानले छ वटा बीमा कम्पनीहरूको सेयर खरिद–बिक्रीमा सौर्य सिमेन्ट र जगदम्बा स्टिलको कार्यालयमा रहेका कम्प्युटर तथा इन्टरनेट प्रयोग भएको देखाएको छ। यस आधारमा सम्पूर्ण कारोबार एउटै समूहले योजनाबद्ध रूपमा सञ्चालन गरेको अभियोजन पक्षको दाबी छ।

अभियोगपत्रमा बीमा कम्पनीहरूले कुनै एक कम्पनीको सेयरमा आफ्नो कुल लगानीको अधिकतम १५ प्रतिशतसम्म मात्र लगानी गर्न पाउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै हिमालयन रि–इन्स्योरेन्सले नियामक निकायको पूर्वस्वीकृतिविना नेपाल पुनर्बीमा कम्पनी तथा अन्य कम्पनीहरूको सेयरमा तोकिएको सीमा नाघेर लगानी गरेको आरोप लगाइएको छ।

अनुसन्धानका अनुसार हिमालयन रि–इन्स्योरेन्सले नेपाल माइक्रो इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सार्वजनिक सेयर ठूलो परिमाणमा खरिद गरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा मात्रै कम्पनीले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १० लाख २० हजार ५३० कित्ता साधारण सेयर खरिद गरेको देखिएको छ, जुन उक्त कम्पनीको चुक्ता पुँजीको १३.६ प्रतिशत तथा कुल साधारण सेयरको ४५.३५ प्रतिशत बराबर रहेको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रअनुसार २०८२ चैत २ गतेसम्म हिमालयन रि–इन्स्योरेन्सको कुल लगानी १८ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी पुगेको थियो। त्यसमध्ये ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी सूचीकृत सार्वजनिक कम्पनीहरूको सेयरमा लगानी गरिएको थियो, जुन कुल लगानीको २३.६१ प्रतिशत हुन आउँछ। बीमा प्राधिकरणको ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ ले पुनर्बीमा कम्पनीलाई यस्तो लगानी अधिकतम १५ प्रतिशतसम्म सीमित गरेको छ।

मुद्दामा हिमालयन रि–इन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छासहित १० जनाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन अध्यक्ष आशिष श्रेष्ठसहित ९ जनाविरुद्ध १६ करोड १७ लाख रुपैयाँ, हिमालयन सेक्युरिटिज बैंकरका दीपककुमार श्रेष्ठसहित ४ जनाविरुद्ध २२ करोड १९ लाख रुपैयाँ तथा हिमालयन क्यापसर्भ लिमिटेडका शिशिर गैह्रेसहित ४ जनाविरुद्ध ३७ करोड रुपैयाँ बिगो माग गरिएको छ।

त्यस्तै एचएलआई लार्ज क्याप फण्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकरसँग सम्बन्धित कपिलकुमार दाहालसहित १० जनाविरुद्ध २५ करोड ३७ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

व्यक्तिगत रूपमा व्यवसायी सुलभ अग्रवाल र सन्दीप चाचन अग्रवालविरुद्ध ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ, दीपक भट्टविरुद्ध २ अर्ब ८९ करोड २० लाख रुपैयाँ तथा राजबहादुर शाहविरुद्ध ८९ करोड ७० लाख रुपैयाँ बिगो माग गरिएको छ।

अभियोजन पक्षले प्रतिवादीहरूबाट बिगो बराबरको जरिबाना समेत असुल गर्न अदालतसँग माग गरेको छ। यो मुद्दा नेपालको पुँजी बजारमा हालसम्म दर्ता भएका सबैभन्दा ठूलो परिमाणका सेयर जालसाजीसम्बन्धी मुद्दामध्ये एक मानिएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  ९ : ४० बजे