अमेरिकी पुरुष राष्ट्रिय फुटबल टोलीले पाराग्वेलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ मा सानदार सुरुवात गरेको छ ।
शनिबार बिहान लस एन्जलसमा भएको समूह ‘डी’ अन्तर्गतको खेलमा अमेरिकाले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै जित हासिल गरेको हो ।
खेलको ३१औं मिनेटमा पाराग्वेका डेमियन बोबाडिलाले आत्मघाती गोल गरेपछि अमेरिकाले सुरुवाती अग्रता लिएको थियो । त्यसको लगत्तै ३१औं मिनेटमै फोलारिन बलोगनले अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफको अतिरिक्त समयको पाँचौं मिनेटमा बलोगनले व्यक्तिगत दोस्रो गोल थपेपछि अमेरिका पहिलो हाफमै ३–० को मजबुत स्थितिमा पुगेको थियो ।
दोस्रो हाफमा पाराग्वेका माउरिसियोले ७३औं मिनेटमा एक गोल फर्काउँदै खेलमा फर्कने सङ्केत गरे पनि अमेरिकाको रक्षापङ्क्तिसामु उनीहरूको अन्य प्रयास सफल हुन सकेन ।
निर्धारित ९० मिनेटपछिको थप गरिएको समयको अन्तिम क्षणमा जियोभानी रेयनाले गोल गरेपछि अमेरिकाको ४–१ को सानदार जित सुनिश्चित भएको हो । यस जितसँगै ३ अंक जोडेको अमेरिकाले अब समूह चरणका बाँकी खेलहरूमा अस्ट्रेलिया र टर्कीको सामना गर्नेछ ।









